0 प्रतिक्रिया
अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन थालिने
१७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताए । इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गरे ।
उनले विद्युत् पोल भाडाबारे थप विवाद गर्न नहुने बताए । सबै मिलेर समस्याको समाधान गर्नुपर्ने भन्दै घिसिङले सेवा प्रदायकसँग बसेर भाडा विषयमा उत्पन्न विवाद सुल्झाउन प्राधिरकण तयार रहेको बताए ।
‘हामीले सेवाकै लागि हाम्रो पोल, ओपीजीडब्लू केबल लगायतका पूर्वाधार दूरसञ्चार सेवाकै सहजताको काम गरिरहेका हौं, पूर्वाधारहरु सहप्रयोगले सहरमा तारको गुजुल्टो कम होस् भनेर नै हामीले भाडा बढाएका थियौं,’ उनले भने, ‘अब सबैले दूरसञ्चार पूर्वाधारको सहप्रयोग गर्ने समय आइसकेको छ ।’



