0 प्रतिक्रिया
निजगढ पुगेर शीर्ष नेताले भने : अन्तर्राष्ट्रिय विमानस्थल यहीँ बन्छ
१८ असार, कलैया । सत्तारुढ गठबन्धनका शीर्ष नेताले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको बताएका छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र केही मन्त्रीहरु निजगढ पुगेका थिए । उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प नभएको भन्दै तत्कालै काम सुरु गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ स्वागतयोग्य रहेको बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सङ्कल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाएको बताइन् ।
कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत सहभागी थिए ।
उनीहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएका प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ ।



