कांग्रेस महामन्त्री लड्ने गगन थापाकाे घोषणा, को-को छन् आकांक्षीकाे लाइनमा ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मंसिरमा हुने १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।  ‘म महामन्त्री पदमा उठ्छु, यो मेरो औपचारिक घोषणा हो,’ उनले भने। 

कांग्रेसले देशैभर यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ। छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने कांग्रेसमा तयारी छ। अहिले कांग्रेसमा ९ लाख क्रियाशील सदस्य छन्, उनीहरू नै वडा अधिवेशनका मतदाता हुन्।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। यसपटक कांग्रेसमा वडादेखि केन्द्रसम्मै कोषाध्यक्ष बाहेकका पदहरूमा निर्वाचन हुनेछ।

अधिवेशनहरू सुरू हुन लागेपछि कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दिने लहर नै सुरू भएको छ। केन्द्रीय सदस्य थापाले महामन्त्रीमा उम्मेदवारी दिएपछि यसले चुनावी सरगर्मी झन् बढाएको छ।

यसअगाडि उपसभापति विमलेन्द्र निधिले काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलिसकेका छन्। निधि यसपटक पार्टी सभापति पदमा उठ्न लागेका छन्। नेता/कार्यकर्ता भेट्न उनले व्यवस्थित रूपमा सम्पर्क कार्यालय नै सञ्चालन गरेका हुन्। त्यहाँ हरेक दिन दिउँसो २ बजेपछि उनले नेता/कार्यकर्ता भेट्दै आएका छन्।

उपसभापति निधि यसपटक सभापति शेरबहादुर देउवाकै टिमबाट सभापतिमा उम्मेदवार हुन चाहिरहेका छन्। तर निधिको चाहना देउवाले पूरा गर्ने अवस्था देखिएको छैन। देउवा नै आगामी एक कार्यकाल सभापतिमा दोहोरिने तयारीमा छन्।

देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूलाई केही समयपहिले बूढानिलकण्ठमा बोलाएर आफू फेरि सभापति उठ्ने भएकोले तलदेखि नै सहयोगी (महाधिवेशन प्रतिनिधि) ल्याउन पहल गर्न भनेका थिए।

देउवाले सभापति उठ्न सहयोग नगर्ने भएपछि निधि अब आफैँ सभापतिका लागि तयारी गर्दैछन्। उनले महामन्त्रीलगायत पदमा क-कसलाई लिएर अगाडि बढ्छन् भन्ने अहिले नै खाका आइसकेको छैन।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा देउवा उनको समूहबाट एकल र बलियो उम्मेदवार थिए, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तिममा साथ दिएपछि देउवा नै सभापति जितेका थिए। त्यसबेला निधि र गोपालमान श्रेष्ठलगायतले देउवालाई सभापति जिताउन सहयोग गरेका थिए। अहिले निधि र श्रेष्ठ आफू नै देउवा समूहबाट सभापति उम्मेदवार हुन इच्छा देखाइरहेका छन्।

यसपटक पूर्वमहामन्त्री सिटौला सभापतिमा उठ्छन् कि उठ्दैनन् अहिले नै यकिन छैन। उनले महाधिवेशन प्रतिनिधि कस्ता आउँछन् त्यो हेरेर मात्र आफ्नो आगामी यात्रा तय गर्ने योजना बनाएका छन्।

१३ औं महाधिवेशनमा सिटौला पनि सभापति उठेका थिए। उनकै टिमबाट महामन्त्री उठेका गगन थापा शशांक कोइरालासँग पराजित भएका थिए।

पाँच वर्षअगाडि पराजित भएको पदमा यसपटक फेरि थापाले उठ्ने तयारी गरेका छन्। यसपटक थापा कुन समूहबाट महामन्त्री लड्छन् यकिन छैन। थापा यसअगाडि सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए। स्रोतकाअनुसार यसपटक थापा पौडेल समूहमा आउन सक्ने सम्भावना छ।

कांग्रेसमा मुख्यगरी तीन वटा समूह अस्तित्वमा छन्। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला। पौडेल पनि सभापतिमा उठ्ने तयारी गरिरहेका छन् तर उनले यसबारे घोषणा गरेका छैनन्। बरू पौडेल आफ्नो टिमबाट एक जना मात्रै सभापतिका लागि उम्मेदवार बनाउन जुटिरहेका छन्।

यसपटक युवा क्रियाशील सदस्यताको संख्या धेरै भएकोले पनि भोट तान्न युवा नेतालाई यी तीनै समूहले महामन्त्रीमा अगाडि सार्न खोजेको देखिन्छ। कांग्रेसमा यसपटक नयाँ विधान छ। यो विधानले केन्द्रमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, एक कोषाध्यक्ष र आठ जना सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरूको परिकल्पना गरेको छ।

सहमहामन्त्रीहरू समावेशी हुनेछन्। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिको प्रस्तावमा एक जना कोषाध्यक्ष केन्द्रीय समितिबाट चयन हुनेछन्। केन्द्रीय पदाधिकारीमा कोषाध्यक्ष पद मात्र मनोनित पद हो।

अधिकांश केन्द्रीय सदस्यमा पनि निर्वाचन हुनेछ। केन्द्रीय समितिमा ३३ जना सदस्य भने सभापतिले मनोनित गर्न पाउँछन्।

कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा मनोनित नहुने भएपछि नेताहरू यी पदमा उठ्ने तयारीमा जुटेका छन्। पहिले उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा पनि मनोनित गर्न मिल्ने विधान थियो।

यसपटक सभापति देउवा, वरिष्ठ नेता पौडेललाई आकांक्षी नेताहरू व्यवस्थापन गर्न सकस पर्ने देखिन्छ।

मुख्यगरी महामन्त्री र उपसभापति पदमा यसपटक नेताहरूबीच प्रतिस्पर्धा हुनेछ। सभापति देउवाले लामो समयदेखि आफूलाई सहयोग गर्दै आएकाहरूलाई मिलाएर लैजान यसपटक चुनौती छ।

देउवाले महामन्त्रीका आकांक्षी दुई जनालाई मन्त्री बनाइसकेका छन्। गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन्। यसमध्ये बालकृष्ण संगठनमा पनि बलियो देखिएकोले उनले महामन्त्री पद नछोड्ने उनीनिकट नेताहरू दाबी गर्छन्।

साथै महामन्त्री पदमा देउवा समूहबाट अहिले सहमहामन्त्री रहेका प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउदलगायत पनि छन्। उनीहरूमध्ये क-कसलाई महामन्त्री उम्मेदवार बनाउने भन्ने चुनौती देउवामाझ छ।

यस्तै वरिष्ठ नेता पौडेल पक्षबाट पनि महामन्त्रीमा तयारी गर्ने नेताहरू छन्। केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, सरिता प्रसाईंलगायत नेता महामन्त्रीको तयारीमा जुटेका हुन्।

तर उनीहरूले सभापति उम्मेदवार, दुई उपसभापतिसमेत टुंग्याउन बाँकी रहेकोले महामन्त्री पदमा को-को उठ्ने भन्ने आफ्नो समूहभित्र व्यापक छलफल हुनुपर्ने बताउने गरेका छन्।

देउवानिकट रहेका सहमहामन्त्री प्रकाशशरण महतले भने आफू महामन्त्री पदमा उठ्ने तयारी गरिरहेको बताए। तर यसबारे सभापति देउवा र टिममा छलफल गरेपछि मात्रै निचोडमा पुग्ने उनले बताए।

‘म अहिले सहमहामन्त्री छु, महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उठ्ने हो,’ उनले भने, ‘यसबारे सभापति र साथीहरूसँग कुरा गर्न नै बाँकी छ, सकेसम्म महामन्त्री उठ्ने तयारीमा छु।’ के पदमा उठ्ने भन्ने तयारी गर्न र घोषणाका लागि पर्याप्त समय रहेको महतले बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि वडा अधिवेशनअगाडि नै सभापतिको एक उम्मेदवार चयन गरेर एकताको सन्देश दिने बताइरहेका छन्। यसका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा पटकपटक छलफल भए पनि ठोस सहमति भइसकेको छैन।

पौडेलसहित सभापतिमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छन्। पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसीले पनि सभापति वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने इच्छा राखेको स्रोत बताउँछ।

महामन्त्रीमा भने पौडेल पक्षबाट केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, चन्द्र भण्डारी र सरिता प्रसाईंलगायतको नाम चर्चामा छ।

सोमबार बुटवलमा रहेका केन्द्रीय सदस्य भण्डारीले आफू के उठ्ने भन्नेबारे टिममा छलफल गर्न बाँकी रहेको भए पनि महामन्त्री वा उपसभापति पदमा उठ्ने इच्छा रहेको खुलाए। ‘म महामन्त्री र उपसभापतिमध्ये एक पदमा उठ्ने तयारीमा छु,’ उनले भने, ‘तर के पदमा उठ्ने भन्ने साथीहरूसँग छलफल गर्नुपर्छ, अहिले निचोडमा पुगिसकेको छैन। यसका लागि समय छ।’

अर्का आकांक्षी केन्द्रीय सदस्य सरिता प्रसाईंले महामन्त्री वा सहमहामन्त्रीमध्ये एक पदमा उठ्ने आफ्नो तयारी रहे पनि टिममा छलफलपछि मात्रै घोषणा गर्ने जानकारी दिइन्।

‘सभापति, उपसभापतिमा को-को उठ्नुहुन्छ त्यसपछि महामन्त्रीमा को-को उठ्ने भन्ने हाम्रो टिममा छलफल होला,’ उनले भनिन्, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, बलबहादुर केसी, अर्जुननरसिंह केसी, शेखर कोइरालालगायत नेताहरूसँग छलफल गरेपछि को के पदमा उठ्ने भन्ने यकिन हुन्छ।’

यसअगाडि पाँच पटक सरेको कांग्रेसको महाधिवेशन यसपटक केन्द्रीय समितिले बनाएको कार्यतालिकाअनुसार भने अगाडि बढ्ने देखिन्छ। वडा अधिवेशनका लागि निर्वाचन अधिकृतहरू जिल्लाहरूमा पुगेका छन् भने क्रियाशीलको नामावली पनि सार्वजनिक भइरहेको छ। 

क्रियाशील सदस्यताबारे अब विवाद बाँकी नरहेकोले तोकिएकै कार्यतालिकाअनुसार महाधिवेशन हुने नेताहरू बताउँछन्। सहमहामन्त्री महतले पनि वडा अधिवेशन नसर्ने बताए। ‘केही ठाउँमा विवाद भयो वा भदौ १८ मा गर्न सक्ने अवस्था देखिएन भने निर्वाचन अधिकृतले नै अर्को मिति तय गर्न सक्नुहुन्छ, त्यो अधिकार दिइएको छ,’ उनले भने। 

महामन्त्री पूर्णबहादुर खड्काले पनि कार्यतालिकाअनुसार सबै अधिवेशनहरू हुने र त्यसकै तयारीमा आफू पनि जुटिरहेको बताए। खड्का उपसभापति पदमा चुनाव लड्ने तयारीमा छन् तर उनले यसबारे अहिले नै भन्ने बेला नभएको प्रतिक्रिया दिए।

‘सभापतिलगायत टिमसँग बसेर छलफल गर्न बाँकी नै छ,’ उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरू आइसकेपछि पनि को के पदमा उठ्ने भन्ने छलफल गर्न सकिन्छ। आफ्नै पार्टीभित्रको आन्तरिक विषय हो छलफलबाटै सबै टुंग्याउँछौं।’