0 प्रतिक्रिया
परराष्ट्र मन्त्रालयले भन्यो : एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै छ
१९ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् ।
‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के-के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ’ प्रवक्ता लम्सालले भनिन्, ‘उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं ।’
गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो ।



