अन्तराष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भ नगरका कोपिलाको दोस्रो अङ्क विमोचन

मंसिर ४, कावासोती ।।
बालबालिकाको क्षमता प्रस्फुटन गराउन कावासोती नगरपालिकाले प्रकाशन गर्दै आएको नगरका कोपिलाको दोश्रो अङ्क विमोचन गरिएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भ पारेर नगरका कोपिलाको दोश्रो अङ्क विमोचन गरिएको हो ।
कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले नगरका कोपिलाको विमोचन गर्नुभएको हो । साहित्यिक पत्रिका नगरका कोपिलाको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पुनले पत्रिकाले बालबालिकाको क्षमता विकासमा सहयोग पुर्याएको बताउनुभयो । यसलाई अझै प्रभावकारी बनादै लैजान मासिक वा त्रैमासिक रुपमा प्रकाशन गर्नुपर्ने सुझाव आएको बताउँदै यसका विषयमा सबै मिलेर छलफल गरि कार्य गर्ने बताउनुभयो ।
नगरप्रमुख पुनले बालबालिकाको सवालमा नगरपालिका संवेदनशिल रहेको बताउँदै नगरपालिकालाई बालमैत्री बनाउने गरि काम सुरु गरेको भएपनि कोभिडका कारण प्रभाव पारेको बताउनुभयो । बालमैत्री बनाउन आवश्यक सूचकहरूमा कसरी काम गर्ने भन्ने विषयमा सबैले मिलेर लागे बालमैत्री नगरपालिका निर्माण गर्न सकिने बताउनुभयो । बाल अधिकारको सवालमा सचेत भएर काम गरे बालमैत्री नगरपालिका घोषणा गर्न सकिने भन्दै सबै एक भएर लाग्नुपर्ने नगर प्रमुख पुनले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले नगरका कोपिलाले सिर्जनशीलताको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पछिल्लो समय विद्यालयहरूमा भौतिक विकास राम्रो भएपनि शिर्जनशीलतामा कमि आएको हो कि भन्ने देखिएकाले अब नगरका कोपिलाले शिर्जनशितामा सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले विद्यालयहरूमा प्रकाशन गरिने भित्ते पत्रिकाले बालबालिकाको क्षमता विकासमा सहयोग पुगेको बताउँदै अब नगरका कोपिलाले थप प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा समितिका तर्फबाट टिकाराम डुम्रेले नगरका कोपिला विमोचनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
नगर बाल सञ्जालका सचिव प्रीति अधिकारीले संविधानमा बाल अधिकारका सवालमा लेखिएका कुराको सुनिश्चित गराउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसै बिच सोही कार्यक्रममा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने पियारी गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आफसँग भएका सबै सम्पत्ति शिक्षा क्षेत्रमा दान गरि पुर्याएको योगदानको कदर गर्दै कावासोती ४ निवासी गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
अन्तराष्ट्रिय बाल अधिकार दिवस तथा नगरका कोपिला दोस्रो अङ्क विमोचन कार्यक्रम शिक्षा शाखाका प्रमुख क्षेत्रबहादुर भण्डारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा श्रोत शिक्षक तीर्थ कंडेलले सहजिकरण र बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला तिम्सेनाले स्वागत मन्तव्य राख्नु भएको थियो । विमोचन कार्यक्रममा बालसंजालमा आवद्ध पदाधिकारी, सदस्य, बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायतको सहभागिता रहेको थियो ।