0 प्रतिक्रिया
धनगढीमा उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे
२० असार, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको हो ।
‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई वाइपास गरिएको छ’, रानाले भनिन्, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ रहन्छ तर एकलौटी गर्न थालेकाले हामी यो नगरसभा चलाउन सक्दैनौं ।’
उपमेयर रानाले मेयर हमालले धनगढीबाट बाहिर जाँदा समेत आफूलाई कुनै जानकारी नदिएको भन्दै कानुनी व्यवस्थाको बेवास्ता नगर्न आग्रह गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ आफ्नो कार्यकक्षमा प्रवेश गर्न समेत हिच्किचाउने भन्दै उनले कर्मचारीले समेत आफ्नो अपमान गरेको बताइन् । निजी सचिवालयमा कर्मचारी व्यवस्थापन नगरिदिएको गुनासो समेत उपमेयर रानाको थियो ।
रानाले उठाएका प्रश्नको जवाफ दिदै मेयर हमालले योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको बताउँदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताएका छन् ।
‘योजना शाखाका विज्ञहरुले योजना बनाएका हुन् । म पनि योजना बनाउनमा संलग्न छैन । ती योजनामा मेरो कुनै स्वार्थ झल्किनुपर्यो नी,’ हमालले भने, ‘एक अर्ब ९३ करोडको बजेट सिलिङमा १० करोड काट्दा धेरै योजना काटिएका छन् । त्यो पनि सम्बन्धित शाखाहरुलाई सोधेरै राखिएको हो ।’
उनले आफ्नो काम उपमेयरलाई रिपोर्टिङ गर्ने नभएको बताउँदै व्यक्तिगत काम परेर बाहिर गएको बताए । तर उपमेयरको सचिवालयमा कर्मचारी नराखिएको विषयमा आफूलाई कुनै जानकारी नभएको मेयर हमालले बताए ।
हमालको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले जनप्रतिनिधिहरुले नगरसभा बैठकमा प्रश्न उठाइरहेका छन् ।



