0 प्रतिक्रिया
‘लक्की विजेता’को नाममा ठगिंदै नेपाली
२१ असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाकी रिना (नाम परिवर्तन) लाई केही दिन पहिले एकाबिहानै ह्वाट्स एप म्यासेज आयो । एनसेलको ९८२३५९३९२७ नं. बाट आएको म्यासेजमा भनिएको थियो ‘तपाईंको मोबाइल नं. पाँच देशको इन्टरनेसनल कोभिड–१९ लक्की ड्र–२०२२ मा छनौट भएको छ । तपाईंको विजेता फाइल नं. ११४४ रहेको छ । यदि तपाईं यो पुरस्कार लिन चाहानुहुन्छ भने हाम्रो हेड अफिसमा हाम्रो म्यानेजर आकाश बर्मालाई सम्पर्क गर्नुहोला ।’ सम्पर्क ह्वाट्स एपबाट मात्र गर्न भनिएको हुन्छ ।
रिनाले उक्त म्यासेज आफ्नो श्रीमानलाई देखाइन् । श्रीमान्–श्रीमतीको सल्लाहपछि रिनाले ह्वाट्स एप कल गरिन् । कलमा आफूलाई आकाश बर्मा बताउने व्यक्तिले फेरी बधाई दिए । रिनालाई दुई/तीन दिन लगातार ह्वाट्स एप कल आउँदै गयो । फोटाहरु, भिडियो क्लिपहरु पनि आए । पोष्टर, फोटो, भिडियो क्लिपहरु हेर्दा रिना दम्पत्तिलाई आफू विजेता भएको विश्वास लाग्यो । उनलाई फेरी फोन आयो, ‘तपाईंको रकम भुक्तानी हुने चरणमा पुगेको छ, तपाईंको बैंक खाता नं. तुरुन्त पठाउनुहोस् । तत्काल खातामा रकम आउँछ ।’
रिनाका श्रीमान्–श्रीमतीलाई बल्ल थाहा हुन्छ आफूहरु लुटियौं भन्ने । उनले हत्त न पत्त आकाश भन्ने मान्छेलाई फोन गरिन् तर फोन उठेन । उनले जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिइन् । प्रहरीले उक्त जाहेरी संघीय प्रहरी इकाइमार्फत प्रहरी अपराध अनुसन्धान शाखामा पठायो । रिना त्यो दिनदेखि दिनहुँजसो फोन गर्छिन्, दिइएको नं. मा घन्टी जान्छ तर उठ्दैन ।
कैलालीका बिनोद (नाम परिवर्तन) लाई रिनाको जस्तै गरी ह्वाट्स एपमा म्यासेज आयो । बिनोदले आफन्तहरुसँग सो म्यासेजबारे छलफल गरे । उनका आफन्तले ह्वाट्स एपको केन्द्रीय कार्यालयलाई यो म्यासेजबारे इमेल लेखे । ह्वाट्स एपको केन्द्रीय कार्यालयले इमेलको रिप्लाई गर्दै भन्यो ‘यो सत्य होइन, यस्तो कुनै पनि प्रकारको लक्की ड्र छैन, भ्रममा नपर्नुहोला ।’ बिनोद ठगिनबाट जोगिए ।
अचेल दिनहुँजस्तो यस्ता ठगीका घटनाहरु भइरहेका छन् । कञ्चनपुरमा मात्रै यस्ता करीब ४० घटना आएको संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डे बताउँछन् । लोभले ठगिएकाहरु पछि पैसा असुलीका लागि प्रहरीमा जाहेरी लगेर जान्छन् । जिल्लाबाट प्रहरीले केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्र लेखेर पठाउँछ ।
छैन प्रभावकारी अनुसन्धान
अपराधका घटनाहरु बढ्दै जाँदा पनि छानबिन भने प्रभावकारी नभएको पीडितहरु बताउँछन् । ‘जुन फोनमा मेरो कुराकानी भएको थियो, त्यसमा अहिले पनि फोन लागिरहेको छ,’ रिना भन्छिन्, ‘प्रहरीले चाहे त्यसको लोकेसन पत्ता लगाउन सक्छ नि !’ उनी प्रहरीले त्यसो गर्न नचाहेको बताउँछिन् ।
आफूलाई प्रहरीको समेत मिलेमतो रहेको शंका लागेको बताउँछन् गत वर्ष यस्तै घटनाबाट तीन लाख रुपैयाँ गुमाएका डोटी आदर्श गाउँपालिकाका एक व्यक्ति । उनी भन्छन्, ‘उनीहरुले हामीलाई पठाएका पोष्टरहरुमा प्रहरीकै फोटा छन्, तर पनि प्रहरीले चासो दिएको छैन ।’ प्रहरीले उल्टो पीडितलाई हपार्ने गरेको आरोप उनले लगाए ।
यसमा एनसेलका नम्बरहरु प्रयोग हुनुले अपराधीहरु नेपालमै छन् भन्ने प्रष्ट भएको बताउँछन् कैलालीका बिनोद । उनी भन्छन्, ‘यति अपराधहरु भइरहँदा पनि एनसेलले ती नम्बरहरुलाई ब्लक नगर्नुले एनसेलप्रति पनि शंका लागेको छ ।’
यस्ता अपराधका घटनाबाट सर्वसाधारण भन्दा पनि जानेबुझेकै व्यक्तिहरु बढी ठगिने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्ट बताउँछन् । ‘अहिलेको जमानामा प्रविधिहरुको प्रयोग गरेर यस्ता धेरै अपराधहरु हुने गरेका छन्,’ भट्ट भन्छन्, ‘यसबाट सचेत रहनु जरुरी छ ।’
पोष्टरमा प्रहरीकै फोटो प्रयोग
ठगहरुले ‘मेगा प्राइज विनर फाइल’ लेखेर नक्कली पोष्टरसमेत बनाएका छन् । पोष्टरमा ‘स्पोन्सर’ भनेर दूरसञ्चार कम्पनीहरु हेलो नेपाल, युटीएल, स्मार्ट र एनसेलको लोगो प्रयोग गरिएको छ । जबकी नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयबाट हेलो नेपाल र युटीएलको सेवा हाल बन्द छ ।
त्यतिमात्र होइन, त्यो पोष्टरमा नेपालको राष्ट्रिय झण्डा, नेपाली हुलाक टिकट र नेपाल प्रहरीको पोशाक र दर्ज्यानी चिह्न भएको फोटोसमेत प्रयोग गरिएको छ ।
तर प्रहरीको फोटो प्रयोग हुनु ठूलो कुरा नभएको बताउँछन् संघीय प्रहरी इकाइका प्रहरी बरिष्ठ उपरीक्षक पाण्डे । उनी भन्छन्, ‘सामाजिक सञ्जालबाटै तानेर पनि दुरुपयोग गरेका हुन्छन्, त्यस्तै भएको होला ।’ उनले यो अपराधलाई प्रहरीले मात्रै नियन्त्रण गर्न नसक्ने बताए । उनले भने, ‘प्रहरीले, बैंकहरुले सन्देशहरु दिएकै छन्, सञ्चारमाध्यमबाट पनि सन्देशहरु आएकै छन्, तर पनि रोकिएको छैन ।’



