+
+
-- Sponsored Ad --

देउवासँगको ‘खटपट’पछि गगन–विश्वले बदल्दै रणनीति

255 पटक हेरिएको
Clock २०७९ असार २५, शनिबार १३:५८
-- Sponsored --

नेपाली काँग्रेसमा सभापति र महामन्त्रीबीच खटपट देखिएको छ । सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आक्रोशित सुनिन थालेका छन् ।

देउवाले विधानको समयसीमा बेवास्ता गरेपछि उनीहरूले आफ्नो रणनीति पनि फेरेको पाइएको छ । देउवामाथि दबाबको रणनीति अख्तियार गरेर अगाडि बढ्न थापा र शर्मा सहमत भएको बुझिएको छ । असार ६ मा देउवाले देखाएको व्यवहारले महामन्त्रीद्वयलाई रणनीति फेर्नुपर्ने ठाउँमा उभ्याइदिएको बताइन्छ ।

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता, पार्टीको नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघ–संस्था पूर्णताबारे सभापति देउवासँग छलफलका लागि उनीहरु ६ असारमा बालुवाटार पुगेका थिए । तर सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माको छलफल सौहार्दपूर्ण रहेन ।

सरकारको बजेट लगायतका विषयमा प्रतिरक्षाको साटो प्रश्न उठाएको भन्दै महामन्त्री थापामाथि देउवा खनिएका थिए । रुलिङ पार्टीको महामन्त्री सरकारको विपक्षमा देखिनु राम्रो नभएको देउवाको भनाइ थियो ।

पार्टीको आन्तरिक विषयमा देउवासँग शर्माको पनि नोकझोक परेको बालुवाटार स्रोत बताउँछ । सरकार र पार्टी सञ्चालनका सन्दर्भका देउवाले लिएको नीतिप्रति काँग्रेस महामन्त्रीद्वयकै असन्तुष्टि देखिन्छ । महामन्त्री शर्माले शालिन ढंगबाट विमति प्रकट गरे पनि महामन्त्री थापा भने सभापति देउवाविरुद्ध आक्रामक सुनिएको पाइन्छ ।

उनीहरूले असार १० गतेभित्र कोषाध्यक्ष मनोनयन, कार्यसमितिको पूर्णता, विभाग र विभिन्न समिति गठनका लागि सभापति देउवालाई आग्रह गरेका थिए । काँग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका आन्तरिक संरचना गठन गर्नुपर्ने व्यवस्था छ । महामन्त्री शर्माले असार १० गतेसम्म ८–१० विभाग भए पनि गठन गरिने बताएका थिए । देउवाले विधानको बेवास्ता गरिदिए । त्यसपछि असार १० गतेभित्र विभाग गठन गरेर विधानको मर्मअनुसार पार्टीलाई अगाडि बढाउने प्रयासमा महामन्त्रीद्वय असफल भए । यद्यपि देउवाले महाधिवेशनको तीन महिनासम्म विधानमा हिँड्ने केही सङ्केत देखाएका थिए । महाधिवेशनको सुरुवाती ३ महिना सभापति र महामन्त्रीबीच ठीकठाक ढंगले सम्बन्ध चलेको थियो ।

सभापति देउवाले केन्द्रीय कार्यसमिति गठन, नियमित केन्द्रीय समिति बैठक र संसदीय बोर्ड गठन गरेर विधानतः अभ्यासको छनक देखाएका थिए । राष्ट्रिय राजनीतिका मुद्दाहरुमा काँग्रेस सही ठाउँमा उभिएको थियो ।

पार्टीलाई ठीक ठाउँमा उभ्याउने भूमिका आफू नचुकेको महामन्त्री थापा र शर्माको दाबी छ । यता पार्टीलाई खुला बनाउने कुरामा पनि महामन्त्रीद्वय थापा र शर्मा सफल भएका थिए । सभापति देउवालाई विश्वासमा लिएर उनीहरूले काँग्रेसको सदस्यता पहिलो पटक खुला गरेका गरेका थिए । तर पछिल्लो तीन महिनामा सभापति देउवाले महामन्त्रीद्वयको सुझाव र दबाबलाई बेवास्ता गरेको देखिन्छ ।

फागुन ३ को पार्टीको कार्यसम्पादन समिति बैठकबाट भंग गरिएका १० वटा भ्रातृ संस्थामा फागुनभित्र तदर्थ समिति ल्याउने अधिकार देउवालाई थियो । तर करिब पाँच महिनासम्म पनि भंग गरिएका भ्रातृ संस्थामा नेतृत्व छैन । देउवाले नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघमा नेतृत्वमात्र मनोनित गरेका छन् । सभापति देउवाका कारण पार्टीलाई विधानसम्मत अगाडि बढाउन समस्या आएको महामन्त्री थापाको बुझाइ छ ।

‘सुरुवाती ३ महिना पार्टी ठीकठाक ढंगले गयो । यो बीचमा प्रभावित पो गर्न सकिन्छ कि भनेर लाग्यौं । तर उहाँ (सभापति)ले आफ्नै स्वभावजन्य व्यवहार देखाउनुभयो,’ उनी भन्छन्, ‘पार्टीका कामहरु समयमै गर्नेभन्दा विस्तारै यिनीहरू (महामन्त्रीद्वय) पनि आफूजस्तै हुँदै जान्छन् भन्ने कुरा हाबी भएको देखिन्छ ।’

देउवाले पहिलो कार्यकालमा विधानको कुनै परवाह नगरी पार्टीलाई सञ्चालन गरेको देखिन्थ्यो । दोस्रो कार्यकालमा पनि विधानको मर्मलाई समात्नेभन्दा पनि विधि विधानका कुरा उठाउनेलाई लतारेर हिँड्ने नीति उनले लिएको देखिन्छ ।

पार्टीका विभाग, भ्रातृ र शुभेच्छुक संस्था गठन र पूर्णता दिने कुरामा महामन्त्रीद्वयको प्रयास व्यर्थ हुनु यसको उदाहरण भएको काँग्रेसका नेताहरू बताउँछन् । विधान कार्यान्वयनमा सभापतिको कदम र कलम नचल्दा सबै पदाधिकारी असफल भएको आरोप लाग्न थालेको छ । तर महामन्त्री थापा भने त्यो मान्न तयार छैनन् ।

‘हाम्रो विधानमा सभापतिले पार्टीको कोषाध्यक्ष र विभागको प्रमुख फलानो भनेर भनेर प्रस्ताव ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘पार्टी र भ्रातृ संस्थाको गठन र पूर्णता सबै कुरा उहाँले नै गर्नुपर्छ । सभापतिको कलम नचालिकन प्रस्ताव नै हुँदैन । मैले प्रस्ताव गरेर हुने भए म आजै गरिहाल्थेँ ।’

तर पार्टीलाई अवस्तव्यस्त हुन नदिने कुरामा महामन्त्रीद्वय सचेत र सजग रहेको उनको भनाइ छ । ‘सभापतिलाई भेटेर दबाब दिँदा परिणाम आउँछ कि भनेर त्यो हामीले गर्‍यौं । यो बीचमा हामीले ६ महिनाको समय सीमाभित्र हुन्छ कि भनेर दायौँ, छलफल गर्‍यौं । सभापतिमाथि दबाब सिर्जना गर्‍यौं । त्यो समय सीमा पार भइसक्यो । तर थप बिग्रिने र भत्किन दिँदैनौँ,’ थापाले भने । अब शैली बदलेर भए पनि पार्टीलाई ट्रयाकमा ल्याउने उनले बताए ।

‘हार्दिकता पूर्वक काम गर्न पाए हुन्थ्यो । बाहिर बोल्न नपरे हुन्थ्यो, पार्टी सभापतिको कामको बाहिर आएर प्रतिरक्षा गर्न पाए हुन्थ्यो भन्ने थियो,’ थापाले भने, ‘बन्द कोठाभित्र त्यही कुराका लागि प्रयास गर्‍यौं । त्यो शैली नभएपछि अब अर्को शैली अवलम्बन गर्नै पर्छ ।’

सभापति देउवासँग संघर्षको शैली अवलम्बन गरेर भए पनि पार्टीमा परिणाम ल्याउने रणनीति बनाइरहेको उनले खुलाए । थापाले भने, ‘पार्टीलाई विधिसम्मत चलाउन अब आन्तरिक छलफल, भेला र बैठक हुन्छ । महामन्त्रीको जिम्मेवारी निर्वाह गर्ने कुुरामा दुई जना बसेर सभापतिबाट  परिणाम निकाल्ने गरी अब अलि शैली बदल्नु पर्छ भनेर प्रशस्त छलफल गरेका छौँ ।’

महामन्त्री थापा सभापति देउवाविरुद्धको मोर्चामा खुल्दै गएका छन् । केही दिनअघि काठमाडौंमा शेखर कोइराला समूहको भेलामा पनि महामन्त्री थापा देउवाविरुद्ध खुलेर प्रस्तुत भएका थिए । त्यसमा उनले महामन्त्री शर्मासँग सहकार्य आवश्यक ठानेको पाइन्छ । यद्यपि शर्मा अहिलेसम्म कुनै पनि गुटगत भेलामा सहभागी भएका छैनन् ।

देउवा समूहको आन्तरिक छलफलमा पनि शर्माको सहभागिता भएको पाइँदैन । १४ औं महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा र शेखर कोइराला समूहबाट महामन्त्रीमा विजयी भएका थापाको सहकार्य भने कसिलो देखिन्छ ।

पार्टीका बैठकमा प्रस्ताव आलोपालो राख्नेदेखि संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले सौहार्द सहकार्यको अभ्यास थालेको देखिन्छ । आसन्न आम निर्वाचनपछि प्रधानमन्त्री बन्ने थापाको आकाङ्क्षामा शर्माले समर्थन जनाएका छन् । महामन्त्री थापा देउवाविरुद्धको मोर्चामा उत्रिँदा शर्माको भूमिका के हुन्छ भनेर अहिले भन्न सक्ने अवस्था छैन ।

स्थानीय निर्वाचनमा शर्मा चुनावी तालमेलकै पक्षमा देखिएका थिए भने थापाले विरोधी लाइनको प्रतिनिधित्व गरेका थिए । तर देउवाको पार्टी सञ्चालनको तौर तरिकाप्रति शर्मा असन्तुष्ट छन् । त्यसको केही सङ्केत भने यही असार २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा देखिने काँग्रेस वृत्तमा अनुमान छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win