0 प्रतिक्रिया
साउनमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
२९ असार, काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका छन् ।
बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको माच्छापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।
बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको उच्च ब्याजदर र बचतको न्यून ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ ।




