+
+
-- Sponsored Ad --

बाबुरामको वैकल्पिक यात्रालाई चोटिला प्रश्न

285 पटक हेरिएको
Clock २०७९ असार ३१, शुक्रबार ११:२२
-- Sponsored --

३१ असार, काठमाडौं । आफूले खोजेको रूपान्तरणको बाटोमा जनता समाजवादी पार्टी हिंड्ने अब कुनै सम्भावना नभएको भन्दै डा. बाबुराम भट्टराईले अलग बाटो तय गरेका छन् ।

काठमाडौंमा मंगलबार र बुधबार बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी पुर्नगठन गरेर जाने निर्णय लिएको छ । उता, पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा सम्पन्न बैठकले डा. भट्टराईसहित ९ कार्यकारिणी समिति सदस्यलाई पदमुक्त गरेर कारबाही गरेको छ । योसँग जसपा औपचारिकरूपमा विभाजित भएको छ ।

डा. भट्टराई पक्षमा लागेका केन्द्रीय कार्यकारिणी सदस्यहरूले नयाँ पार्टी गठन सम्बन्धी सम्पूर्ण अधिकार पाएका छन् । बैठकले प्रत्यायोजित अधिकार प्रयोग गर्दै भट्टराई पक्षले छिटै नयाँ पार्टीको घोषणा समेत गर्ने छन् ।

भट्टराई लगायत अधिकांश नेताले अब बन्ने पार्टी वैकल्पिक राजनीतिक शक्ति हुने र वैकल्पिक राजनीति गर्ने बताएका छन् । यद्यपि, केही नेताहरू विचार मिल्ने पार्टीसँग ध्रुवीकरण गरेर जानुपर्ने पक्षमा पनि देखिएका छन् ।

माओवादी केन्द्र छाडेको केही समयपछि भट्टराईले ३० जेठ २०७३ मा नयाँ शक्ति गठन गरेका थिए । अब बन्ने पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति बनाई छाड्ने अठोट भट्टराई लगायतका नेताहरूले भेलामा गरेका छन् ।

बाबुराममाथि चोटिला प्रश्न

तत्कालीन संघीय समाजवादी पार्टीसँग २०७६ मा नयाँ शक्ति पार्टीलाई एकीकरण गराएपछि भट्टराईको मुखबाट वैकल्पिक शक्ति र वैकल्पिक राजनीतिको कुरा सुरिलो गरी सुनिन छाडेको थियो । जनता समाजवादी पार्टीभित्रको आन्तरिक संघर्षले विभाजनकै डिलमा पुर्‍याएपछि भट्टराईको मुखबाट फेरि वैकल्पिक राजनीतिको कुरा सुनिन थालेको छ ।

हुन त भट्टराईले नयाँ शक्ति हुँदै संघीय समाजवादीदेखि जनता समाजवादीसम्मको यात्रालाई ‘स्वर्गको यात्रा गर्दा नर्क पुगेको’ रूपमा व्याख्या गरेका छन् । तर, पछिल्लो विद्रोहमा पनि उनलाई साथ दिन तयार भएकाहरूले उनीमाथि चोटिला प्रश्न गरेका छन् । दुई दिनको बैठकमा भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेता कार्यकर्ताहरूले वैकल्पिक शक्ति भनेर विगत र अब गर्न आँटेको यात्राबारे विभिन्न कोणबाट प्रश्न उठाएका छन् ।

समूहगत छलफलका क्रममा ‘विगत ७ वर्षसम्म किन नयाँ बनाउन सकिएन र पुरानो अनुहारले फेरि नयाँ शक्ति बन्ला ?’ भन्ने प्रश्न पनि नेता कार्यकताहरूले नेतृत्व सामु उठाएका छन् ।

छोटै समयमा पार्टी विभाजित भएर फेरि दोबाटोमा आइपुगेपछि नेता कार्यकर्तामा अब के गर्ने भन्ने प्रश्न र निराशाले घेर्न थालेको अभिव्यक्ति समूह रिपोर्टिङको क्रममा टोली नेताहरूले सुनाए ।

‘म माओवादीमा, एमाले र कांग्रेसमा जादिनँ,’ टोली नेता जनक साहले समूह ७ को निष्कर्ष सुनाउँदै भनेका थिए, ‘हामीले बाबुराम भट्टराईको नेतृत्व मानेर लागेको हो । यदि माओवादी, एमाले परिवर्तन भएर आउँछन् भने एकता गर्न सकिन्छ । आत्मसम्मान नै गिराएर हामी कतै मिसिनु हुँदैन ।’

कतिपय नेता कार्यकर्ताले फेरि नयाँ शक्तिको अभियान जाँदा जनताले नपत्याउने हुन् कि भन्ने संसय देखियो । कार्यकर्ताहरूको त्यस्तै आवाज सुनाइन् युवा नेता मानुषी यमी भट्टराईले । ‘पहिले हामीले वैकल्पिक धारको नेतृत्व गर्छौं भन्दा जति नैतिक पुँजी बलियो थियो, तर अहिले हामीले विश्वस्नीयता गुमाएका छौं,’ उनको भनाइ थियो, ‘त्यसैले हामीले मनोगतरूपमा वैकल्पिक राजनीति मात्रै भन्दा हामी सफल हुन्छौं कि हुन्नौं ?’

पार्टी विभाजन गरेर कतै ठूला पार्टीमा विलय गराउन खोजिएको त होइन भन्ने आशंका पनि कार्यकताले व्यक्त गरे । समूह १० को निष्कर्ष सुनाउँदै रवीन्द्र यादवले भने, ‘केही नेतृत्वले पार्टीलाई ठूलो पार्टीमा विलय गराउने खतरा रहेको भन्दै त्यसलाई रोक्नुपर्ने सुझाव दिएका छन् ।’
वैकल्पिक राजनीतिको कुरा गर्ने नेतृत्व स्वयंलाई पनि यसप्रति विश्वास छ कि छैन भन्ने प्रश्न पनि नेता, कार्यकर्ताले उठाए । ‘हाम्रो नेतृत्व आफैं वैकल्पिक शक्ति बन्नेमा विश्वासमा हुनुहुन्न कि ?’ समूह ११ को रिर्पोटिङ गर्दै बन्दना सुवेदीले भनिन् ।

कार्यकारी नेतृत्व छाड्न तयार छु भन्ने भट्टराईका भनाइमा कतिपयले आफूहरूलाई अलपत्र बनाउन खोजिएको त होइन भन्ने ढंगले पनि आशंका गरे । भट्टराईले नयाँ पुस्तालाई नेतृत्व सुम्पिएर आफू अभिभावकीय भूमिकामा बस्ने अभिव्यक्ति दिएका थिए ।

कमजोर बचाउ

अधिकांश नेता कार्यकताले भट्टराईमाथि प्रश्नको तीर सोझाएपछि कार्यकारिणी सदस्यहरूले उनको बचाउ गरेका थिए । भट्टराई पक्षतिर लागेका प्रायः कार्यकारिणी सदस्यहरूले भट्टराईतिर मात्रै होइन, आफूतिर पनि प्रश्न उठाउन भनेका थिए ।

‘हामी वैकल्पिक शक्ति भनेर लागेको धेरै भएको छैन’ कार्यकारिणी सदस्य डम्बर खतिवडाले कार्यकर्तालाई प्रतिप्रश्न गर्दै भने, ‘त्यो एजेन्डा परिपक्व हुने समय नै भएको छैन । हामी किन यति धेरै आत्तिएका छौं ?’

अर्का कार्यकारिणी सदस्य गंगानाराणका श्रेष्ठले भट्टराईलाई मात्रै दोष दिएर नहुने भन्दै सबैले आआफ्नो भागमा पर्नेजति लिनुपर्ने तर्क गरे । ‘बाबुरामतिर एक औला फर्काउँदा आफूतिर तीन औंला फर्किन्छ भन्ने पनि विचार गरौं,’ अर्की कार्यकारिणी सदस्य हिसिला यमीको भनाइ थियो ।

चुनावको मुखमा नयाँ पार्टी बनाएर प्रतिस्पर्धामा उत्रँदा नतिजा राम्रो नआउने भन्दै चुनावमा जान नहुने कतिपय कार्यकर्ताको सुझाव थियो । यसमा असहमत पार्टीका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले भने, ‘कुनै शक्तिसाग गठबन्धन गरेर चुनावमा भाग लिनुपर्छ । अहिलेको गठबन्धनले हाम्रो शक्तिअनुसार सम्बोधन गरेन भने देशमा अर्को गठबन्धन बन्छ ।’

हालको गठबन्धनले आफूहरूको अवमूल्यन गरे एमाले नेतृत्वमा लोसपा, सिके राउतसहितको मोर्चा बन्ने यादवको भनाइ थियो ।

यादवको तर्कलाई पछ्याउँदै डा. भट्टराईले पनि तालमेललाई सिद्धान्तको आँखाले हेर्न नहुने बताए । ‘तालमेलमा कुनै छुवाछुत हुँदैन,’ भट्टराईले भने, ‘त्यो विनिमय जस्तो न हो । पहिले पहाडमा चामल र नुन साटे जस्तो हो । तालमेल गर्ने भन्ने कुरा कुनै सिद्धान्तको कुरा होइन, व्यवहारको कुरा हो ।’

यथोचित भागबन्डा मिल्ने शक्तिसँग चुनावी तालमेल गर्नुपर्ने बताइरहँदा उनले कांग्रेस, एमाले र माओवादीजस्ता ठूला शक्तिहरू बिगि्रएकोले वैकल्पिक राजनीति आवश्यक भएको तर्क गर्न भने छाडेनन् ।

आगामी बाटोबारे अलमलमा परेको भन्ने आरोपलाई पनि भट्टराईले नकारे । तत्कालीन नयाँ शक्तिले अघि सारेको ‘पाँच स’लाई नै नयाँ बन्ने पार्टीले बोक्ने उनले स्पष्ट पारे ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win