११ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको प्रष्ट पारेका छन् ।
थापाले आफ्ना छोरालाई एन्फाको सीईओ वा उपमहासचिव बनाउन दबाव दिएको समाचारको गौरवले खण्डन गरेका हुन् ।
सन् २०१३ देखि २०१८ सम्म एन्फाको विभिन्न पदमा रहेर काम गरेको प्रष्ट पार्दै उनले सो समयमा आफ्नो नियुक्ति फिफा, एएफसी र नेपालको कानून विपरीत नभएको बताएका छन् ।
नेपाली फुटबलको विनाश चाहने एउटा समूहले संगठित रुपमा आफूविरुद्ध षड्यन्त्र गरिरहेको गौरवले आरोप लगाएका छन् । उनले वक्तव्यमा लेखेका छन्, ‘म प्रष्ट पार्न चाहन्छु कि यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संग्लग्नता थिएन र अहिले पनि छैन ।’

