
११ भदौ, काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो ।
उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष छन् ।
भिजिट भिसामा आफन्तबाहेक जाँदा कम्तिमा १० लाख आय हुनुपर्ने पनि भनिएको थियो । त्यसको ५० प्रतिशत बैंकमा मौज्दात हुनुपर्ने भनिएको थियो । विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भट्न जाने विषयलाई श्रीमान श्रीमती, बाबुआमा, दाजुभाइ, सासुससुरा र छोराछोरीमा मात्र सीमित गरिएको थियो ।
नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने पनि भनिएको छ ।
नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्नसक्ने गरी सूचना प्रणालीमा अपलोड गरेको हुनुपर्ने भनिएको थियो । तर यस्ता कागजातहरु नै कीर्ते गरेर भिजिट भिसामा पठाउने गरिएको आशंका छ ।