
८ पुस, चितवन। पटक-पटक सूचना जारी गरेर अतिक्रमित संरचना भत्काउन सूचना जारी गरे पनि अट्टेरी गरेपछि चितवनको नारायणगढमा सडक डिभिजन कार्यालयले डोजर चलाएको छ ।
नारायणगढ-गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका घर टहरा शुक्रबार बिहानबाट भत्काउन थालिएको छ । ६ लेनको सडक विस्तारका क्रममा सडक सिमा मिचेर बनाइएका ५८ वटा संरचना भत्काउन भन्दै सडक डिभिजन कार्यालयले यसअघि नै सूचना जारी गरेको थियो ।
समयमा नै अवैध संरचना भत्काउन नसक्दा नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारको ठेक्का म्याद सकिन ३ महिना बाँकी हुँदा जम्मा ५८ प्रतिशत मात्रै काम सकिएको छ ।
निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले तोकिएको मितिभित्र काम सक्न विभिन्न चुनौती आएको बताए । उनले सडक विस्तारका लागि आवश्यक मालसामाग्री नपाउनु, समयमा नै सडक क्लियर नगर्नु जस्ता विषयले काममा अवरोध गरेको बताए ।
उनले साइट क्लियर भएर कच्चा पदार्थ उपलब्ध भएमा चालु आर्थिक वर्षभित्र नै ६.०८ किलोमिटर लामो सडकखण्ड विस्तारको काम सक्ने लक्ष्य आफूहरुले लिएको दावी गरे । २८ महिनाभित्र विस्तार गरी सक्ने सडकको लागत एक अर्ब बाह्र करोड रुपैयाँ छ ।