
१४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रायः शनिबार र अन्य सार्वजनिक विदाको दिन निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किन्छन् । यही क्रममा कार्यकारी निर्देशक घिसिङ उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेलाई लिएर गत शनिबार जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनास्थल पुगे ।
काठमाडौं उपत्यकाको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि महत्वपूर्ण मानिएको आयोजनाको निर्माण करिब ४ महिनादेखि ठप्प छ । करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा सबैतर्फबाट काम हुनु पर्नेमा ठप्प रहेपछि घिसिङ आफैं आयोजनास्थल पुगेका हुन् ।
आयोजनास्थल पुग्नासाथ कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख आनन्द ढुङ्गेललाई ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाउन निर्देशन दिए । आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले बैठक राखेर आयोजनाको समस्याबारे प्रश्न राखे । ठेकदार कम्पनीका प्रतिनिधिले निर्माणमा आलटाल गरिरहने संकेत गरेपछि घिसिङ आक्रोशित भए । ठेकेदारलाई काम सुरु गर्न अझ केही महिना लाग्ने बताएपछि घिसिङले नसके काम छोडेर जानसक्ने बताए ।
आयोजनाको प्रबर्द्धन कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ ।
उनले चीनस्थित कम्पनीको मुख्यालयका प्रमुखसहितको बैठक तत्काल बोलाउन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए । साथै, आयोजना प्रमुखलाई ठेक्का सम्झौता रद्ध गर्न अब बाँकी गर्नु पर्ने कामकको मूल्यांकन गर्न निर्देशन पनि दिए ।
‘अब धेरै पर्खिन सकिंदैन, ठेकेदार कम्पनीको उच्च व्यवस्थापनको प्रतिबद्धताका लागि यही साता बैठक बसौं, तत्काल काम सुरु नहुने हो भने ठेक्का तोड्नुको विकल्प छैन’, घिसिङले आक्रोशित मुद्रामा भने, ‘निर्माण कार्यमा ठेकेदारलाई सहजीकरण गर्न सबै उपाय अपनाइएको छ, तर पनि किन काम गरिंदैन ?’
आयोजना प्रमुख ढुङ्गेलले ठेकेदार कम्पनीले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणहरु उत्पादन गरिरहेको बताए पनि अहिलेसम्म त्यसको वास्तविकता थाहा हुन नपाएको उल्लेख गरे ।
नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्प प्रायः थियो ।
आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । कोभिड–१९का कारण लगातार १५ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण असोज २०८० भित्रमा सक्ने लक्ष्य राखिएको छ ।
ईपीसी मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ ।
आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।
आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।
तर, योजना अनुसार काम नै नभएपछि घिसिङले आयोजनास्थलको अनुगमन भ्रमण गरी निर्माणका क्रममा आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदारहरुसाग छलफल गरेका छन् ।
घिसिङले विगतदेखि नै प्राधिकरणका आयोजनाहरुको अनुगमन गर्दै समस्या समाधान गर्न सहजीकरण गर्ने गरेका छन् । निर्माणमा संलग्नलाई दवाव, प्रोत्साहन तथा हौसला प्रदान गर्न कार्यकारी निर्देशक घिसिङ आफैं फिल्डमा जाने गरेका कारण प्राधिकरण कर्मचारी र ठेकदारहरु दबाबमा पर्ने गरेका छन् ।