कतै पिचमाथि पिच, कतै खाल्डै–खाल्डा

२८ पुस, काठमाडौं । बानेश्वर चोकबाट शंखमुलतर्फ गइरहेको ट्याक्सी मंगलबार खाल्डोमा परेर अड्केपछि ट्याक्सी चालक श्याम ढकाल तनावमा परे । सहकारीबाट पैसा निकालेर सेकेन्ड ह्यान्ड ट्याक्सी किनेका उनले सडकमा भएको खाल्डोमा इन्जिन ठोक्किंदा एकैदिन २७ हजार खर्च भयो ।

‘छेउमा एउटा मोटरसाइकल हुँइकिंदै आयो, यता म खाल्डोपट्टीबाट ओर्लिन खोज्दा गाडीको इन्जिन छोयो । बनाउन २७ हजार लाग्यो’ ढकालले भने ।

काठमाडौंका कुनै सडकमा समस्या नहुँदै कालोपत्रे (पिच) थोपर्ने काम भइरहेको छ भने कतै मुख्य सडकहरु नै खाल्डोले भरिएका छन् । कुनै सडकमा ‘पिच माथि पिच’ भइरहेको छ भने कतै खाल्डोले ढपक्कै सडक ढाकिएका छन् ।
स्कुटरमा बल्खुबाट कालिमाटी हुँदै टेकु आउने सविता क्षेत्रीलाई सँधै एउटै तनाव हुन्छ, बीच मै परेको खाल्डो । ‘अफिस आउँदा सधैं खाल्डो छल्दै आउनुपर्छ, लेनकै छेउमा बडेमानको खाल्डो छ, यता छल्दा उता ठोक्किने डर, देशको राजधानीको त यस्तो ताल छ, अरु स्थानको के होला ?,’ क्षेत्री प्रश्न गर्छिन् ।
बालाजुबाट नियमित बानेश्वर आउने सम्भव शर्मा त्रिपुरेश्वरको बीच सडकमै रहेको खाल्डोमा परेर लडे । ‘कार्यालय आउँदै थिए, सडकको बीचमा खाल्डो होला भन्ने सोचेकै थिइन्, खाल्डोमा परेपछि अनियन्त्रित भएर लडें’ उनले भने ।
शर्माका अनुसार पछाडि कुनै ठूलो गाडी भएको भए उनी ठूलो दुर्घटनामा पर्नसक्थे । ‘धन्न गाडीले हानेन, भाग्यले बाँचें ।’
यस्ता घटना काठमाडौंका सडकमा सामान्य जस्तै भएका छन् । काठमाडौं महानगरपालिका ३२ नम्बर वडा नरेफाँट लगागतका भित्रि सडकहरु, १० नम्बर वडाको सडकहरु, नदी करिडोरका सडकहरुका खाल्डाले सम्बन्धित निकायलाई गिज्याइरहेको छ ।
काठमाडौं महानगरपालिकाको चक्रपथ कै केही स्थानमा ठूला–ठूला खाल्डा परेका छन् । भित्री सडकहरु त हरिविजोग नै रहेको काठमाडौंबासीले गुनासो गर्दै आएका छन् ।
महानगरको बेवास्ता:
काठमाडौंको सडकहरुको बेहालको विषयमा महानगरपालिकालाई जानकारी नै नभएको भन्ने होइन । बुद्धनगरबाट सफल सिग्देलले महानगरको कल सेन्टरमा फोन गरेर खाल्डाखुल्डी परेको सडक टाल्न अनुरोध गरे ।
तर, महानगरको कल सेन्टरले मर्मत गर्न सम्बन्धित निकायमा भन्ने बतायो, तर फोन गरेको १० दिन बितिसक्दा पनि वास्ता नगरेको बताउँछन् । ‘यो क्षेत्रमा विद्यार्थी, कार्यालयका कर्मचारीहरु धेरै हिँड्छन तर महानगरपालिकाले एकदमै बेवास्ता गरेको छ । यहाँको खाल्डाले धेरै मोटरसाइकल, स्कुटर लडाएको छ । ह्विलचियरमा हिंड्नेहरु त यो बाटोमै हिंड्नै सक्दैन’ उनी भन्छन् ।
सिग्देलले भनेको जस्तै काठमाडौं महानगरमा भएको खाल्डोहरु मर्मत गर्न महानगरले कुनै चासो देखाएको छैन । महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि पूर्वाधार एम्बुलेन्स चलाउने भन्दै हल्ला गरेता पनि अहिले थन्किएर बसेको छ । केही समय टिप्परलाई रंग लगाएर निर्माण सामग्री बोक्दै माटो र गिट्टी खाल्डोमा हाल्दै हिंडेको पूर्वाधार एम्बुलेन्स अहिले बजेट अभावमा थन्किएर बसेको छ ।
तर महानगरका अधिकारीहरु भने गुनासो नै कम आएको दाबी गर्छन् । महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा वर्षामा भन्दा अहिले गुनासो कम आएको बताउँछन् । ‘चल्दै नचलेको भने होइन । अत्यावश्यक स्थानमा त गइरहेको छ’ उनले भने ।
थापाले सडकमा पछिल्लो समय मेलम्ची खोनपानी आयोजनाले पाइप र विद्युत प्राधिकरणले तारको लागि खाल्डो खनिरहेको भन्दै पुर्ने काम पनि उनीहरुकै भएको बताए । ‘सडकमा जसले खाल्डो पार्छन्, उसैले पुर्छन्,’ उनले भने, ‘ महानगरले पनि आफ्नो काम गर्दा पाइप फुट्यो भने मर्मत गरिदिन्छ । उहाँहरुले पनि गर्नुपर्छ, अहिले खाल्डो त्यसकारण पनि भइरहेको छ ।’
महानगरभित्र रहेका सडकमा साना–ठूला खाल्डाले दैनिक हुने साना दुर्घटनाहरु सामान्य बन्दै गएका छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार भएपछि सडकमा भएका खाल्डाहरु एक महिना भित्र पुर्न निर्देशन दिएका थिए । उनी सडकका खाल्डा पुरेको हेर्न फिल्ड मै पुगे, तर उनको निर्देशनले काम गरिरहेको छैन ।
सडक विभागले केही मुख्य सडकमा केही आवधिक मर्मत र नियमित मर्मत सम्भारको काम गरिरहेको छ । तर, मर्मत गरेको सडक अन्य विभान्न निकायले भत्काउने गर्दा समस्या परिरहेको विभागका अधिकारीहरुको भनाइ छ ।

अनलाइनखबर

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *