0 प्रतिक्रिया
मन्त्रीमा शेखर समूहले खोज्यो हिस्सेदारी
९ चैत, काठमाडौं । नेपाली कांग्रेसको शेखर समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ ।
सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डा टुंगो लागेको छैन । तर कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । बिहीबार आफ्नो समूहको बैठकमा डा. शेखर कोइरालाले पनि मन्त्रालय भागवण्डाबारे सभापतिले केही नभनेको सुनाएका थिए ।
नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए जान डा. शेखर कोइरालालाई सल्लाह दिएका छन् । उनले भने यसबारे केही नबोलेको एक सहभागीले सुनाए । महामन्त्री गगनकुमार थापालाई पनि नेताहरुले अर्थ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको भए जान सुझाव दिएका थिए । तर उनले भने आफू सरकारमा नजाने बताए ।
यद्यपि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारमा पार्टीको नेतृत्व गरेको अवस्थामा उपसभापति मातहात जाँदा नैतिक प्रश्न भने उठ्न सक्छ । ‘उहाँ (धनराज) लाई मन्त्री हुने पहिलो कुरा हो । वरियता वा कसको नेतृत्व भनेर हेर्नु होला जस्तो लाग्दैन,’ एक केन्द्रीय सदस्य भन्छन् ।
यो समूहमा रहेका सहमहामन्त्री जीवन परियार, डिगबहादुर लिम्बु, तेजुलाल चौधरी पनि आकांक्षी छन् । ‘शेखर दाइले आफ्नो समूहमा सबैभन्दा बढी विश्वास गर्ने जीवन परियारको हो’, एक नेता भन्छन्, ‘यो पटक उनलाई मन्त्री बनाउन सक्छन् ।’



