१२ चैत, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो ।
घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।
‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ’, मल्लले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए । ‘प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु भइसकेको छ, मृतकको नामथर वतन खुलेको छैन’, उनले भने ।

