साउन ४, काठमाण्डौ :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ । यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।
विभागका महानिर्देशक शोभाकान्त पौडेलको नेतृत्वमा केहीबेर अघि भएको छलफलमा उक्त निर्णय भएको हो । जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने विभाग स्रोतले जानकारी दियो ।
यसैगरी विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार घटनाका विषयमा थप विवरण संकलन गर्न अहिले सीसीटीभीको फुटेज डाउनलोड गरेर थप विवरण संकलन गर्न सुरु गरिएको छ । साथै सामानको एक्सरे कसरी गरियो त्यसको विवरण पनि संकलन गर्न सुरु गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।
राजस्व अनुसन्धान विभागले करिब एक अर्ब सुन बरामद गर्दा सुन तस्करी भएको सूचना दिने सुराकीले मात्रै १० करोड रुपैयाँभन्दा बढी पाउने भएका छन्। बरामद सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबरको भए सुराकीले १० करोड रुपैयाँ पाउँछन्।
यदि उक्त सुनको मूल्य १ अर्ब रुपैयाँभन्दा बढी भएको अवस्थामा सुराकी रकम पनि थप हुन्छ। यसअघिसम्म जति सामान बरामद भए पनि १० लाख रुपैयाँभन्दा बढी सुराकी वापत रकम नपाउने व्यवस्था थियो। तर चालु आर्थिक वर्ष २०८०र०८१ को बजेटमार्फत १० लाखको दायरा हटाउँदै जति बरामद हुन्छ त्यसको १० प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको थियो। जसकारण अहिले बरामद भएको सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबर भएको अवस्थामा सुराकीले १० करोड रुपैयाँ पाउने भएका छन्।
उक्त रकमको लोभले नै सुराकीले राजश्व अनुसन्धान विभागलाई सूचना दिएकाले सुन बरामद भएको हो। स्रोत भन्छ, ‘१० लाख रुपैयाँभन्दा बढी सुराकी रकम नपाउने भएको भए सायद उक्त सूचना राजश्वमा पुग्दैन थियो। तर १० लाखसम्मको दायरालाई हटाएर जति बरामद हुन्छ त्यसको १० प्रतिशतसम्म सुराकी वापत पाउने भएपछि त्यसमै लोभिएर सूचना विभागलाई पुगेका हो।’
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
नियन्त्रणमा लिएको ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् ९डिस्क ब्रेक सु० भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।
विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ(काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो।
यो प्रकरणमा अहिलेसम्म दोलखा मेलुङ गाउँपालिका( ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका(४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका(४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारतको पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ पक्राउ परेका छन्।

