साउन ५, काठमाण्डौ: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताएका हुन् ।
अनुगमनपछि सञ्चारकर्मीहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताए । ुकतै तीन ब( बालकोट, बालुवाटार र बूढानीलकण्ठ० मिलेर यो घटना सामसुम पारिने त होइनु भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ुभ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन ।ु सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ । ुसम्माननीय प्रधानमन्त्रीज्युको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेका छौँ । कसैले यसलाई भ्रम पार्न सकिन्छ कि विचलित बनाउन सकिन्छ भनेर नसोचे नि हुन्छ,ु गृहमन्त्री श्रेष्ठले भने ।
भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि निरीक्षणमा गएका हुन् । भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।
त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई समेत निलम्बन गरिएको प्रवक्ता खड्काले इकान्तिपुरलाई जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

