काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सरकारले माग ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित गर्नेगरी सो निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
पौष १ गते ती दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । निर्वाचन आयोगका अनुसार पौष ४ गते दर्ता भएका दलहरुको अन्तिम नामावली प्रकाशित हुने छ । पौष १६ गते सो निर्वाचन प्रयोजनका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुने छ ।
आयोगका प्रवक्ता पौडेलले पौष २० गतेदेखि २९ गतेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रम हुन्छ । मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यो माथि दाबी विरोध, उजुरीहरु लिने, अन्तिम नामावली प्रकाशित गरिने बताउनुभयो ।
मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरु सो अवधिमा हुने पनि प्रवक्ता पौडेलले बताउनुभयो । कार्यतालिकाअनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकुल हुनेगरी मतदान स्थल तोक्ने छ । माघ ११ गते बिहान नौ बजेबाट अपरान्ह ३ बजेसम्म मतदान हुने छ ।
निर्वाचन कार्यतालिकाअनुसार मतदान स्थलमा दुई वटा मतदान केन्द्र हुने छ । प्रदेश सभा सदस्यहरुले मतदाता गर्ने मतदान केन्द्र हुन्छ । अर्को पालिकाको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षले मतदान गर्ने मतदान केन्द्र हुने व्यवस्था गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।
निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रियसभा निर्वाचनको मतभार पनि परिवर्तन गरेको छ । राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेश सभा सदस्यको हकमा ५३ र पालिका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार रहने गरी आयोगले निर्णय गरेको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।
फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।


