कावासोती खानेपानीले पौने ४ करोडको लागतमा खानेपानी पाइप विस्तार गर्दै

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कावासोती ३ र ९ मा नयाँ खानेपानी पाइप लाइन विस्तार शुरु गरेको छ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले कावासोती ३ र ९ मा पुराना तथा नयाँ स्थानमा गरी २८ किलोमिटर खानेपानी पाइप विस्तार शुरु गरेको बताए ।

दशैं पछि यहाँ पाइपलाइन विस्तार शुरु गरेको हो । २०० एमएम देखि ७५ एमएमसम्मको पाइपलाइन विस्तार गरिएको छ ।

 

३ करोड ८० लाखको लागतमा पाइपलाइन विस्तार गरिएको छ । त्यसैगरी कावासोती ५ शितल निवास वन नजिकै पूर्णबहादुर घर्ती भुजेलको जग्गामा प्रति सेकेण्ड २० लिटर पानीको प्रभाव हुने बोरिङ्ग पनि निर्माण भइरहेको अध्यक्ष लम्सालले बताए ।

नेपाल सरकारको खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभाग अन्तरगतको शहरी खानेपानी तथा सरसफाई आयोजना सुधार विस्तार कार्य अन्तरगत ७० प्रतिशत अनुदान, संस्थाको ५ प्रतिशत लगानी र २५ प्रतिशत लोनमा काम भइरहेको लम्सालले बताए ।

यहाँ कावासोती ५ र कावासोती ३ को वडा कार्यालय निर रहेको बोरिङ्गबाट पानी वितरण गरिने छ ।

यस अघि कावासोती ३ र ५ मा खानेपानीको पाइपलाइन भए पनि पाइप सानो भएको र पानी आपूर्ति गर्न निकट भविष्यमा असजह हुने भएकोले नयाँ पाइपलाइन विस्तार गरिएको हो ।

पुस महिना भित्र काम सक्ने गरी काम भइरहेको खानेपानी अध्यक्ष लम्सालले बताए ।