स्याङ्जामा रकम वितरण

  • समाचार
  • २०७८ श्रावण २४, आईतवार २३:२३

स्याङ्जाको गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका–२ बटुवाका किसानलाई अनुदानस्वरुप रु १९ लाख ५७५ वितरण गरेको नगरपालिकाले जनाएको । नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटरमा रु १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमअन्तर्गत पनि अनुदान वितरण गरेको छ ।

उत्पादनका आधारमा प्रतिलिटर रु १५ का दरले ६६ किसानलाई रु ११ लाख ८६ हजार ५७५ र गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत १७ किसानलाई जनही रु ७२ हजारका दरले रु सात लाख १४ हजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख भूपराज अधिकारीले अनुदान कार्यक्रमले नगरभित्रका किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेसाप्रति आकर्षित गरेको छ ।” यसबाट किसानहरु आत्मनिर्भर बन्दै गएको उहाँको भनाइ छ । नगरप्रमुख अधिकारीले कृषिको बजारीकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको प्रत्याभूति नगरपालिकाले लिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यमा किसानहरु उत्साहित भएर लागेकाले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले कृषक टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको जानकारी दिनुभयो ।

अर्यालका अनुसार रानाले प्रतिलिटर रु १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ ४० पैसा प्राप्त गर्नुभएको छ । यसैगरी रानाले गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुईवटा गाई खरिद गरेबापत रु ४२ हजार अनुदानसमेत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको यो कार्यक्रमले किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुगेको बताइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *