
कात्तिक ३, बुधबार ।।
कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हो ।
सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीको भङ्गालो गाउँ पसेपछि बीचमा फसेका पुष्करसिंह नायकको पाँच जनासहितको घर परिवारको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसँगै प्रहरीले विभिन्न निकायसँग समन्वय गरेको बताए ।
उनका अनुसार मंगलबार साँझ साढे ५ बजे फसेको स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ उद्धार गरिएको हो । पुष्करसिंह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरी नजिककै बस्तीमा राखिएको छ ।
बाँच्ने आस गुमाएका नायक परिवारलाई सरकारको पहलमा सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेपछि उनीहरू खुसी भएका छन् । कंचनपुरको दुर्गम बस्तीका रूपमा परिचित खल्लामछेट्टी जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ ।
उक्त बस्ती बाढीको उच्चजोखिममा रहेको छ । खल्लामछेट्टीका स्थानीय युवा किसनसिंह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भए पनि सरकारले उद्धार गरेको भन्दै राज्यको आभास भएको बताए । उनका अनुसार सो गाउँमा झण्डै १०० परिवार डुबानमा परेका छन् ।
तटीय क्षेत्रका स्थानीय डुबानमा परेसँगै सुरक्षित भागतिर सरेका छन् । ब्रह्मदेवदेखि उक्त बस्ती जाने सडकसमेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङ्गालोका कारण जिल्लासँग सम्बन्ध बिच्छेद भएको खड्काले बताए ।
बझाङ पहिरो अपडेटस् संचार अवरोधले उद्धारमा समस्या:
थलारा गाउँपालिका ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा तल्लो डिख्ला र दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सातवटा घर पुरिएका छन् ।
स्थानीयका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की भने रोजगारीका लागि भारतमा छन् । उनका माहिला छोरा काले सार्की मात्र सकुशल रहेका स्थानीयले बताएका छन् ।
बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सीता सार्की, प्रवाश सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, संजीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवास सार्की, विकास सार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन सार्की, कलुदेवी सार्की र एलिसा सार्की गरेर १८ जना रहेका छन् ।
यस्तै, नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सीमा पार्की गरेर पाँच जना रहेका छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि। महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको बताइएको छ ।
बिहानैदेखि प्रहरी, पत्रकारलाई फोन गर्न धेरै प्रयास गरेको तर नेटवर्कले काम नगरेका कारण सम्पर्क हुन नसकेको स्थानीयको भनाइ छ ।
बिहान ४ बजे सुतेकै समयमा पहिरो गएपछि केहीले भागेर ज्यान बचाएका र केही निदाएकै अवस्थामा पहिरोसँगै बेपत्ता भएका स्थानीय बताउँछन् । घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न सकेका छैनन् । पानी निरन्तर परिरहेकाले बालबालिका र वृद्धवृद्धालाई समस्या भएको बताइएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा संचार सेवा अवरुद्ध भएको र बाढीले सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
लेउती खोलाको बाढीले कोसी राजमार्ग बगायो :
अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान(धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका( ६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो ।
उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन । खोला उर्लिएको छ । बालुवा तथा माटोसहितको बाढी आइरहेको छ।
बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ । धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन् । सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पानीको बहाव बढेका कारण सडकमा अझै क्षति हुने संभावना रहेको उनले बताइन् ।
राईका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन । यस कारण चाँडै सडक खुल्ने संभावना पनि छैन। अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ । बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन ।
बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ । त्यहाँ केही होटल र स्थानीयको घर रहेका छन् ।
जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बटो बगाएको स्थानमा पुगेका बतइएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोसी राजमार्गका विभिन्न ठाउँमा पहिरो गइरहेको बताए । उनका अनुसार सदरमुकाम मास्तिरको सल्लेरीमा रूख ढल्दा बाटो अवरुद्ध बनेको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रूख पन्छाएका छन् । उनले भने, ुठाउँठाउँमा रूख ढलेका छन् । ढलेका रूख पन्छाउने काम भइरहेको छ । लगातार पानी परिरहेकोले थप क्षति हुने संभावना छ ।ु
यस्तै, हिले(भोजपुर सडक पनि अवरुद्ध भएको छ । हिले(भोजपुर सडक खण्डअन्तर्गत पाख्रिवास नगरपालिका( ६ डिकुरेमा सडक अवरुद्ध बनेको हो । सडकमाथिबाट लेदो माटोसहित ढुंगा निरन्तर बगिरहेको छ । बाटो खुलाउन प्रहरी र डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।
बैतडीको शिवनाथमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु :
बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ( ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।
मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।
अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सुनसरीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु :
सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान( १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
आज दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्धार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
उनीहरूका बुबाआमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो आएको थियो । बुबाआमाले ज्यान बचाए पनि दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द :
सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।
यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।
डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।