+
+
-- Sponsored Ad --

नेपाल प्रहरीमा बढुवा सकसः एसएसपीको पद खाली राखेर फेरि डीआईजीको दरबन्दी थप्ने तयारी

562 पटक हेरिएको
Clock २०७८ कार्तिक ४, बिहीबार १९:१६
-- Sponsored --

कात्तिक ४, काठमाडौं ।। नेपाल प्रहरीमा ६ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पद खाली छ । २०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली रहे पनि अहिलेसम्म यी पदमा कसैलाई बढुवा गरिएको छैन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवा हुन नसकेको हो । करिब ६ महिनादेखि एसएसपी बढुवामा ध्यान नदिएको गृहमन्त्रालयले बरु डी आईजी थप्ने तयारी थालेको छ ।

गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १४ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को पद थप्ने गृहकार्य भइरहेको छ । ‘डीआईजी र एसएसपीको पद थप्नेबारे छलफल भइरहेको छ’ गृहका ती अधिकारीले रातोपाटीसँग भने, ‘यसमा सहमति लिनका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ ।’

प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर सो प्रस्ताव मन्त्रिपरिषदमा पठाउने गृह मन्त्रालयले तयारी गरिरहेको छ ।

गत वैशाखमा बरिष्ठ उपरीक्षक (एसएसपी)का तीनवटा पद खाली भए । एसएसपी किशोर दाहाल र देवबहादुर बोगटीले वैशाखमा अवकाश पाए । त्यस्तै, दिलिप चौधरीले असार १० मा र मुकेश सिंहले साउन ३२ मा अवकाश पाए । सौरभ राणा गत साउनमा डीआईजीमा बढुवा भएसँगै एसएसपीमा थप एक सिट खाली भयो । त्यस्तै, कृष्णबहादुर महतले असोज २२ मा एसएसपीबाट अवकाश पाएका थिए । तर, गृह मन्त्रालयले यी सिटहरुमा अहिलेसम्म बढुवा गर्न सकेको छैन ।

पूर्वएसएसपी यादवराज खनालको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र एसएसपीमा बढुवा गरिसक्नुपर्ने आदेश गरेका थियो । तर, अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले सो आदेशको अवज्ञा गरिरहेका छन् ।

२०७६ चैत मा मन्त्रिपरिषदले प्रशासनतर्फका डीआईजीको संख्या घटाएर १४ मा राख्ने निर्णय गरेको थियो । तर, ०७७ मंसिरमा फेरि पाँचजना डीआईजी र एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) थप्ने निर्णय गरिएको थियो । करिब १० महिनाको अवधिमा अहिले फेरि डीआईजी थप्ने तयारी थालिएको हो ।

नेपाल प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । उनीहरुमध्ये अवकाशमा जान लागेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरिराज वाग्ले, पूजा सिंह, नरबहादुर खत्री, सुशील यादव, मोहन आचार्य र नलप्रसाद उपाध्यायलाई डीआईजी बनाउने गरी पद  सिर्जना गर्न लागिएको स्रोतले बतायो । 

सरकारको तयारीअनुसार डीआईजीको दरबन्दी थप भएमा एसएसपीबाट अवकाश पाउन लागेका अधिकृतहरूले बढुवा हुने अवसर पाउनेछन् ।

यसैबीच, गृहमन्त्रालयका पूर्वसचिव चण्डीप्रसाद श्रेष्ठ राज्यको आवश्यकता र आर्थिक भार हेरेर मात्रै माथिल्लो दर्जा थप्ने निर्णय गर्नुपर्ने बताउँछन् । ‘करिब डेढ वर्षको अवधिमा दुईपटक डीआईजीको पद थप्नुपर्ने अवस्था कसरी आयो ?’ श्रेष्ठले भने, ‘आफ्ना मान्छेलाई ल्याउन मात्र चाजोपाँजो मिलाइन्छ, यसरी कसैलाई टिप्नका लागी पद थप्ने कुरा तर्कसंगत भएन ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win