देवचुली, एलिना केसी : नवलपुर जिल्लाकै पहिलो संस्थागत विद्यालय न्यू नवल ईङ्लिस बोडिङ्ग स्कुलको ३९ औँ बर्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रगत अभावलाई परिपूर्ति गर्ने उद्धेश्यले भरतपुर रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा महिला ८ जना र पुरुष १९ जना गरि २७ जनाले रक्तदान गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक सदिप शर्माले विद्यालय ३९ औँ बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउन लागिएको जानकारी दिनुभएको छ ।
पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिरहेकाले अस्पतालमा रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउनु नपरोस भन्दै विद्यालयले ३९ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम संचालन गरेको शर्माले बताउनुभएको छ ।
यसैगरि देवचुली वडा नं १२ का वडाध्यक्ष एवम् रक्तदान कार्यक्रम संयोजक दिनानाथ भुसालले विद्यालयसँग सहकार्य गरि रक्तदान कार्यक्रम गर्न पाएकोमा खुशी लागेको बताउनुभएको थियो ।
विद्यालयले आइतबार स्थापना दिवसको दिन कोभिडका कारण अघिल्लो शैक्षिक सत्रमा वितरण गर्न रोकिएको पुरस्कार वितरण, भूतपूर्व विद्यार्थीलाई सम्मान, अभिभावक दिवस लगायतका सांस्कृतिक कार्यक्रम गर्ने विद्यालयका को–अर्डिनेटर किरण भट्टराईले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक खेमराज भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद मरासीनीको रक्तचाप परिक्षण गरि समुद्घाटन गरिएको थियो ।