+
+
-- Sponsored Ad --

बक्यौता नतिर्ने धुर्मुस सुन्तली फाउण्डेशन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

539 पटक हेरिएको
Clock २०७८ पुष ७, बुधबार १९:४१
-- Sponsored --

भरतपुर ०७ पुस । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। फाउण्डेशनले छ महिनाभन्दा बढी समयदेखि बक्यौता नतिरेको उनले बताए।

आर्थिक सहायता उपलब्ध हुन छाडेपछि फाउण्डेशन टाट पल्टिएको छ। फाउण्डेशन रंगशाला निर्माणको कामबाट समेत पछि हटेको छ। फाउण्डेशनले ४५ केभिए क्षमता लिएर रंगशाला निर्माणको काम गर्दै आएको थियो। ‘सम्मानित संस्था भए पनि गर्नुपर्ने काम त गर्नुपर्‍यो’, उनले भने।

भरतपुर वितरण केन्द्रअन्तर्गत सबैभन्दा बढी बक्यौता रहेको माउण्ट एभरेष्ट ब्रुअरीको लाइन पनि बुधबार नै काटिएको हो। ब्रुअरीले चार महिनादेखिको ३७ लाख ४१ हजार ३१७ रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको पौडेलले बताए।

लाइन काट्नका लागि उद्योग परिसरभित्र जान खोजेका विद्युतका कर्मचारीलाई ब्रुअरीका कर्मचारीले अवरोध गरेका थिए। ‘लाइन काट्न उद्योग परिसरमा प्रवेश गर्न खोज्दा तीन जना चौकीदार खटाएर हामीलाई लखेटियो’, उनले भने, ‘त्यसपछि बाहिरैबाट जम्पर खोलेर आयौँ।’

भरतपुर वितरण केन्द्रले ६० दिनभित्र बिजुलीले महसुल नतिर्ने ग्राहकको लाइन काट्न पाउँछ।  केन्द्रको जम्मा बक्यौता एक करोड १० लाख रुपैयाँ रहेको छ। बक्यौता नतिर्ने मध्येका दुई ठूला ग्राहकको बुधबार लाइन काट्ने काम भएको उनले बताए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win