एन सञ्चार, १९ पुषः

१. बढ्दै कोभिड संक्रमण, के तेस्रो लहरको संकेत हो ?

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार एक सूचना जारी गर्दै भन्यो– नेपालमा कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन सबै निकाय पूर्वतयारीका साथ रहनू ।

‘नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि विगतमाझैँ कोभिड केस बढ्न नदिन सतर्क हुनु अपरिहार्य छ,’ महाशाखाको सूचनामा भनिएको छ ।

महाशाखाको यो सूचना सरकारको नियमित सन्देश मात्र नभई नेपालमा कोभिड १९ को तेस्रो लहरको जोखिमबारे बजाइएको ‘अर्लाम’ पनि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकलाई हेर्दा पनि नेपालमा कोभिड संक्रमण पुनस् उकालो लाग्दो देखिन्छ ।

बढ्दो टेस्ट पोजिटिभिटी दर र घट्दो सुरक्षा मापदण्डको पालनाले नेपालमा ओमिक्रोनकै कारण तेस्रो लहर भित्रिने त होइन भन्ने प्रश्न पैदा गरेको छ ।

नेपालमा पुसका १८ दिनमा ४ हजार २९६ जना कोभिड संक्रमित थपिएका छन् । पुस १८ गतेको तथ्यांकलाई हेर्दा ५ हजार ९६२ नमुनाको पीसीआर परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको छ । मंसिर महिनाको तथ्यांकमा ११ हजारको हाराहारीमा परीक्षण गर्दा पनि यही संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी भारतसँगको सीमा नाकामा पछिल्लो समय संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

‘ओमिक्रोन फैलिने जोखिम बढेको छ?’

भारतमा कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि ओमिक्रोन फैलिने जोखिम बढेको छ । नेपालमा ३ जनामा ओमिक्रोन पुष्टि भएपछि पनि केही शंकास्पद नमुनाहरू भेटिएका छन् । नेपालमा डेल्टा भेरियन्ट आइसकेपछि एस जिन नेगेटिभ आउने नमुनाहरू भेटिन छोडिसकेका थिए । त्यसअघि एस जिन नेगेटिभ देखिँदा अल्फा हो भन्ने अनुमान लगाइन्थ्यो ।

‘पछिल्लो केही दिनयता परीक्षण गरिएका नमुनाहरूमा एस जिन नेगेटिभ देखिनुलाई हामीले ओमिक्रोनको इन्डाइरेक्ट मार्करको रूपमा लिएका छौँ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण प्रसाद पौडेलले भने ।

परीक्षण गरिएका नमुनामा एस जिन नेगेटिभ देखिनेको संख्या बढ्नु र नेपालसँग आउजाउ बढी हुने भारतका राज्यहरूमा ओमिक्रोनको संक्रमण बढ्नुले नेपालमा ओमिक्रोन फैलिने जोखिम बढेको डा। पौडेलको भनाइ छ । भारतका पश्चिम बंगाल, उत्तराखण्ड लगायतका क्षेत्रमा अहिले ओमिक्रोन संक्रमण बढेको छ । नेपाल भारत सीमा जोडिएका नाकाबाट पछिल्ला दिनहरूमा दैनिक ३ हजारको संख्यामा नेपाली र भारतीय नागरिक भित्रिने गरेको महाशाखाको तथ्यांक छ ।

हट स्पट बन्दै काठमाडौं

पछिल्लो समय रहेका कोभिड १९ का सक्रिय संक्रमितमध्ये ४२।५५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभर ५ हजार ५ जना सक्रिय संक्मित रहँदा २ हजार १३० जना काठमाडौं उपत्यकामा छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार काठमाडौंमा मात्रै १ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा यो संख्या ५०२ र ललितपुरमा ५८४ रहेको छ । कोभिड संक्रमणको जोखिमका हिसाबले काठमाडौं उपत्यकाका तीनै जिल्ला अहिले ुरेड जोनुमा रहेका छन् । यीबाहेक सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी रहेका छन् ।

के तेस्रो लहर आउनसक्छ र?

नेपालमा कोभिड १९ का दुईवटा लहरमा डेल्टा भेरियन्ट बढी मात्रामा फैलिएको थियो । अर्थात् डेल्टा भेरियन्ट फैलिएकै कारण नेपालमा दोस्रो लहरको संक्रमण उच्च भएको थियो । कुनैपनि नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएमा संक्रमण उच्च भइ अर्को लहरको रुपमा देखिनसक्ने विज्ञहरू बताउँछन् ।

नेपालमा अहिलेको हकमा ओमिक्रोनका कारण संक्रमण केही बढेपनि अर्को लहर आउने सम्भावना भने कम रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा। शेरबहादुर पुन बताउँछन् ।

२. माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

३. जुवा खालबाट पक्राउ परेका वडाध्यक्षसहित १३ जनामाथि अनुसन्धान गर्न म्याद थप

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ।

आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका(६) का वडाध्यक्ष तथा कांग्रेसका नगर सभापति शशि बुढा, वडा नम्बर(४) का वडा सचिव प्रचण्डजंग शाह लगायतलाई जिल्ला अदालतबाट ५ दिनको थप गरी अनुसन्धान सुरू गरिएको हो।

उनीहरूविरूद्ध अवैध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव काफ्लेले जानकारी दिए।

जाजरकोट सदरमुकामस्थित गैरीखालीबाट आइतबार बिहान ३ बजे उनीहरूलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार रूकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेललगायत जुवाखालबाट पक्राउ परेका हुन्।

४. नेपाली क्रिकेटको दुर्घटना टर्‍यो, ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए

ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो ।

क्यानको कारबाहीमा परेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जना र अन्य ५ गरी ९ खेलाडी सोमबार टिम बसेको होटल रमादा इनकोरमा आइपुगेको राष्ट्रिय टिमका म्यानेजर सुमनराज कार्कीले जानकारी दिए । सोमबार ९ जना खेलाडी आएसँगै बन्द प्रशिक्षणमा बोलाइएका ३० मध्ये २९ खेलाडी क्यानको सम्पर्कमा आएका छन् । कप्तान सन्दीप लामिछाने भने बिग बास लिग खेलिरहेकाले अष्ट्रेलियामा छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका १४ खेलाडीले ज्ञानेन्द्र मल्लाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउने तथा उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्रिकेट संघको निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए । कारबाहीमा परेका चार जनाले छुट्टै र १० जनाले छुट्टै पत्र लेखेर निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले शनिबार र आइतबार हटाइएका कप्तान ज्ञानेन्द्र मल्लसँग वार्ता गरेका थिए । तर वार्तामा सहमति हुन सकेको थिएन । मल्लले टी–२० को कप्तान सन्दीप लामिछानेलाई कायम राख्दा एकदिवसीयको कप्तान आफू र उपकप्तान दीपेन्द्र सिंह ऐरी नै हुनुपर्ने, ग्रेडिङ सुधार गर्नुपर्ने अडान राखेका थिए ।

तर सोमबारसम्म केही खेलाडी बन्द प्रशिक्षणका लागि क्यानको सम्पर्कमा गएपछि मल्ल दबावमा परे । आइतबार साँझसम्म उनीसहित ९ जना बन्द प्रशिक्षणमा जाने कि नजाने अलमलमा थिए । सोमबार भएको छलफलपछि सबै जना राष्ट्रिय टिम बन्द प्रशिक्षणका लागि होटलमा पुगेका हुन् ।

स्रोतका अनुसार क्रिकेट संघका अध्यक्ष चन्दले सन् २०२१ को ग्रेडिङमा नपरेका रोहितकुमार पौडेल, विक्रम शोब र गुल्सन झालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । कप्तानबारे भने केही प्रतिवद्धता जनाएको छैन ।

म्यानेजर कार्कीका अनुसार सोमबार होटल आएकामध्ये ६ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । सोमपाल कामी, करण केसी र रोहित पौडेलको परीक्षण गर्न बाँकी छ ।

यसरी सुरु भएको थियो विवाद र!

क्रिकेट संघ र खेलाडीहरुको विवाद कात्तिकमा सार्वजनिक भएको ग्रेडिङबाट सतहमा आएको थियो । क्रिकेट संघले गरेको ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाए र सेन्ट्रल कन्ट्र्याक्टमा हस्ताक्षर नगरेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितका चार जनाले सञ्चार माध्यममा विवादबारे धारणासमेत सार्वजनिक गरे ।

त्यसलाई लिएर क्रिकेट संघले २५ कात्तिकमा खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी गरी चार जनालाई स्पष्टीकरण सोध्यो ।

खेलाडीहरुले ३० कात्तिकमा जवाफ मात्र दिएनन्, ५ मंसिरमा थप खेलाडीहरुको हस्ताक्षरसहित आफ्ना मागहरु राखेर ७ दिनभित्र जवाफ दिन ‘अल्टिमेटम’ दिए ।

क्यानले १२ मंसिरमा २७ घण्टे अर्को स्पष्टीकरण सोध्यो । खेलाडीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै क्यानले २९ मंसिरमा अनुशासन उल्लंघन गरेको ठहर गर्दै मल्ललाई कप्तान, ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ मा ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गर्‍यो । साथै सन्दीपलाई नयाँ कप्तान घोषणा गरेको थियो ।

बन्द प्रशिक्षण सुरु

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भने सोमबार नै सुरु भएको छ । प्रशिक्षण सुरु गर्नुअघि प्रशिक्षक पुबुदु दशानायकेले सबै समस्या समाधान भएको प्रतिक्रिया दिएका थिए ।

५.भोलिदेखि कोरोना खोपको ‘अतिरिक्त मात्रा’ दिइने

सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई भोलि मङ्गलवारदेखि कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अतिरित्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू प्रयोग गरिरहेका बिरामीले पाउने छन् ।

यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिले पनि अतिरिक्त खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि जुन खोप लगाएको हो, अतिरिक्त मात्रामा पनि त्यही खोप दिइनेछ ।

यो खोप बुस्टर डोज नभइ कमजोर स्वास्थ्य भएका व्यक्तिलाई दिने अतिरिक्त मात्रा भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गइ थप मात्रा खोप लगाउन अनुरोध गरेको छ ।

६. बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना

आउँदो बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।

शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्नेछ ।

मौसम बदलीका कारण देशका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर धेरै ठूलो पानी पर्ने सम्भावना भने छैन । चिसोको समयमा मौसम बदली भएर सानो पानी पर्दा पनि चिसो धेरै नै बढ्छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार आज र भोलि भने देशका धेरैजसो ठाउँमा दिनभरि घाम लाग्नेछ । प्रदेश २ र गण्डकी प्रदेशका केही ठाउँमा बिहान बेलुका कुहिरो लाग्ने सम्भावना छ ।

७. हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

गएको एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएको सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो ।

आज सोमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूको उद्धार गरेको प्रजिअ बास्कोटाले बताउनुभयो ।

उद्धार हुनेहरूमा १० जना पुरुष र चार जना महिला रहेका छन् । पुथाउत्तरगंगा २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरूकै गाउँ पेल्मामा छोेडिएको छ । उनीहरूको अवस्था सामान्य रहेको र सबै जना नजिकैको ओढारमा बसेको बताइएको छ ।

गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका उनीहरू गएको १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए ।

८. १२ हजार ४ सय ९८ जनाको नमुना परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय ९८ जनाको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६ सय ७४ पुगेको छ । अहिले नेपालमा पाँच हजार पाँच जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड पाँच लाख ९७ हजार सात सय ९७ जनाले पूर्ण मात्रा र एक करोड ४३ लाख ६० हजार ६ सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

९. यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेको अवस्थामा १६ जनालाई आज सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाण्डौका सुबिन लामा, काठमाण्डौकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राज भण्डारी पनि पक्राउ परेका छन् । साथै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ओखलढुङ्गाका विवेक न्यौपाने, ललितपुरका को रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले सेवाग्राहीहरूलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने भनी आश्वासन दिइ जबरजस्ती तानी अनावश्यक दुःख दिँदै सार्वजनिक स्थानमा अशान्ति मच्चाएको प्रहरीले बताएको छ । उनीहरू १६ जनालाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान भइरहेको छ ।