0 प्रतिक्रिया
नेपालमा १४ दिनमा थपिए ९३,३०३ जना कोरोना संक्रमित,सवारी साधनमा युरो ६ लागू गर्ने सरकारको प्रस्ताव सकारात्मक नाडा,एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण,स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्न कानुनविद्हरूको सुझाव
एन सञ्चार, ९ माघः
१. नेपालमा १४ दिनमा थपिए ९३,३०३ जना कोरोना संक्रमित : कुन दिन कति थपिए ?
पछिल्लो १४ दिनमा नेपालमा ९३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १४ दिनमा ९३,३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। आइतबार थपिनेको संख्या ६ हजार ४६२ रहेको छ।
दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हो।
नेपालमा देखिएका संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए ।
३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।
आइतबार ६,४६२ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ।
मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ। पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ।
काठमाडौं उपत्यकामा ३,७९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा ३,७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २,८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।
१४ दिनमा कति थपिएरु
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएको थियो। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते यो संख्या बढेर ५,०८७ पुगेको थियो।
माघ १ गते ४,६३६ जना थपिएकोमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेको संख्या १०,२५८ रहेको थियो। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। यो हालसम्मकै उच्च संख्या हो। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेको संख्या १०,२५४ रहेको थियो। आइतबार ६,४६२ संक्रमित थपिएका छन्।
२. सवारी साधनमा युरो ६ लागू गर्ने सरकारको प्रस्ताव सकारात्मक नाडा
सम्पूर्ण सवारी साधनहरुमा युरो ६ लागू गर्ने सरकारको प्रस्तावलाई नाडा अटोमोवाईल्स एशोशिएशन अफ नेपालले सकारात्मकरुपमा लिएको छ।
आइतबार राजधानीको होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा एशोशिएशनले सवारी साधनमा युरो ६ लागू गर्ने सरकारको प्रस्तावलाई सकारात्मकरुपमा लिएको जनाएको हो।
यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागू गर्दै जानु पर्ने भएकाले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभई सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा नै लागू गर्ने व्यवस्थाका लागि सरकारसँग नाडाले अनुरोध गरेको छ।
नेपाल अटोमोवाईल्स एशोशिएशन अफ नेपाल नाडाका अध्यक्ष ध्रुव थापाले सम्पूर्ण सवारी साधनमा युरो ६ लागू गर्ने प्रस्ताव कार्यान्वयन गर्न केही समय लाग्ने र सरकारले त्यसका लागि आफूहरुलाई समय दिन माग गरे। यो नियम तत्काल लागू भएता पनि पछि समस्या आउन सक्ने उनको भनाइ थियो। यस्ता नियमले प्रदूषण बढाउने उनको जिकिर छ।
३. एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।
ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।
दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।
४. राष्ट्र बैंकले फेरि भन्यो– ‘क्रिप्टोकरेन्सी र नेटवर्क माकेर्टिङको कारोबार गर्नेलाई कारबाही हुन्छ’
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न फेरि सचेत गराएको छ ।
राष्ट्र बैंकले आज आइतवार सूचना निकालेर क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानुनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
५. ‘नेपालमा सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन, डेल्टा भेरिएन्टको सङ्क्रमण घट्दो’
नेपालमा कोभिड १९ (कोरोना भाइरस) को ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताउनुभयो ।
नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको र विश्वव्यापी रूपमा जस्तै नेपालमा पनि डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
ओमिक्रोन भेरिएन्टको सङ्क्रमण गति तीव्र हुने भएकाले स्वास्थ्यका पूर्ण मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो । कोरोनाको लक्षण देखिएमा अनिवार्य रूपमा क्वरेण्टीनमा बस्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
६. राष्ट्रिय सभा चुनाव : आज रातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन :
राष्ट्रिय सभा चुनावअन्तर्गत आज ९आइतवार० राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी गराएको हो ।
आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले चुनावको आचारसंहिता सार्वजनिक गरेको बताउनुभयो । उहाँले यस समयमा चुनावको मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाइनुपर्ने बताउनुभयो । सहसचिव धमलाले आजदेखि सामाजिक सञ्जालबाट प्रचारप्रसार र प्रकाशनका काम गर्न बन्द भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै पनि चुनावमा आचारसंहिता लागू हुन्छ । तर अहिलेको राष्ट्रिय सभाको चुनावमा आम मतदाता संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार आदिको हिसाबले पनि त्यो सङ्ख्यामा नहुने भएकाले आचारसंहिता उल्लङ्घन भएका उजुरी आएका छैनन् र आउँछो जस्तो पनि लाग्दैन । आज राति १२ बजेदेखि आचारसंहिताको मौन अवधि सुरु हुन्छ । मौन अवधिमा सबै प्रचारप्रसारका काम बन्द गर्नुपर्छ । मतदान हुने ठाउँको तीन सय मिटर वरिपरि पर्चा, पोस्टर, पम्प्लेट टाँसेका छन् भने हटाउनुपर्छ । त्यो मौन अवधिमा जस्तैस्– एसएमएस गर्ने, फेसबुक, भाइबर, ट्विटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर प्रचरप्रसार गर्ने काम बन्द गर्नुपर्ने हुन्छ । राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र उनीहरूको विषयमा सामग्री प्रकाशन गर्ने काम पनि बन्द गर्नुपर्छ ।’
सहसचिव धमलाले राष्ट्रिय सभाको चुनावमा आयोगले निर्देशित गरेका २१ बुँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढङ्गले सम्पन्न हुने बताउनुभयो ।
७. नक्कली परीक्षार्थी, विचौलिया र परीक्षामा अमर्यादित काम गर्ने तीनजना पक्राउ
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालिक एमडीरएमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाको रूपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
उनीहरूलाइए हिजो काठमाडौंबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले नक्कली परिक्षार्थी जितेन्द्र र विचौलियाको रूपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका–८ एलआरआई स्कुल कलंकीबाट र परिक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्याङ काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
८. स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्न कानुनविद्हरूको सुझाव
कानुनविद्हरूले स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्न सुझाव दिएका छन् । आइतबार सत्तारूढ गठबन्धनले गरेको छलफलमा कानुनविद्हरूले संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्न सुझाव दिएका माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीअनुसार उनीहरूले स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४ संविधानको धारा २२५ सँग बाझिएकाले संशोधन गर्न सुझाव दिएका छन् ।
२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे पदावधि २०७९ जेठ ५ मा सकिँदै छ । तर, ३१ वैशाख २०७४ मा पहिलो, १४ असार २०७४ मा दोस्रो र २ असोज २०७४ मा तेस्रो गरेर तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले अन्तिम मिति कुन मान्ने भन्नेमा द्विविधा रहेको सत्तारूढ गठबन्धनको भनाइ छ ।
९. निर्वाचन सार्ने कुरा गरेका छैनौ स् सरकारका प्रवक्ता
सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार मन्त्री तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले निर्वाचन सार्ने कुरा नगरेको बताएका छन् । आइतबार बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
‘संविधानको भावना र स्प्रिट अनुसार हामी चल्छौ । निर्वाचन सार्ने कुरा गरेका छैनौं । संविधान अनुसार तीनै तहको निर्वाचन हुन्छ, चाहे त्यो संघ, प्रदेश वा स्थानीय तहको निर्वाचन नै किन नहोस रु’ मन्त्री कार्कीको भनाइ छ ।



