+
+
-- Sponsored Ad --

न्यूज ब्रिफिङ्ः झुक्याएर हालेको सिन्दुरको काम छैन, सदस्यता फ्याँकिदिनुस्,एमालेमा आउनुस्ः ओली, आइतबारको संसद् बैठकको कार्यसूची सार्वजनिक: अटाएन एमसीसी, आफन्तले नै गरे स्कुल बस रोकेर बालबालिकाको अपहरण, टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

482 पटक हेरिएको
Clock २०७८ फाल्गुन ७, शनिबार २०:२७
-- Sponsored --

एन सञ्चार, फाल्गुन ७ ।।

 

१. आइतबारको संसद् बैठकको कार्यसूची सार्वजनिक, अटाएन एमसीसी

 

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

आइतबार दिउँसो १ बजे बस्नेगरि संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन। संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७र०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको छ।

सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन।

२. एमसीसीमा नेकपा (एस)को रणनीतिः संसद्मा टेबल गर्न दिने, यथास्थितिमा पारित हुन नदिने

 

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले एमसीसी प्रस्ताव संसद्मा टेबल गर्न दिने तर संशोधनविना पारित गर्न नदिने रणनीति लिएको छ । शनिबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न नरोक्ने तर यथास्थितिमा अनुमोदन भने गर्न नदिने निर्णय गरेको हो ।

‘यथास्थितिमा अर्थात् उसले राखेको सेवा, सर्तहरूको अधीनमा एमसीसी पारित गर्न दिन सकिँदैन भन्ने हाम्रो स्थायी कमिटी बैठकले सर्वसम्मत निर्णय गरेको छ । यसबारेमा थप निर्णय गर्नका लागि केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ,’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

आफूहरूले जनताको भावना, राष्ट्रिय हित र वैचारिक प्रतिवद्धताका आधारमा निर्णय गरेको उनले बताए ।

‘त्यसलाई ब्यापक रूपमा आम जनताको बीचको बहस नगरी नहुने र जनताका प्रतिनिधिहरूले यसबारेमा जानकारी नलिई नहुने, यसका कानुनी समस्याहरू र अन्य प्रकारका समस्याहरू थुप्रै रहेको र सम्झौतामा धेरै विरोधाभाष रहेकाले संशोधन गरेर मात्रै, राष्ट्रहित अनुकूल बनाएर मात्रै यसलाई पारित गर्न सकिन्छ भन्ने पार्टीको धारणा रहेको छ । छलफलका लागि यो सम्झौता संसद्मा टेबल भएमा हामीलाई आपत्ति हुनेछैन र तर संशोधन भने हुनैपर्छ,’ उनले भने ।

एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि एमसीसी संसद्मा टेबल गर्न गर्न दिइने तर थप छलफल गर्नुपरेर केही बुँदा संशोधनसहित अनुमोदन गर्नुपर्ने निर्णय गरिएको बताए ।

एसमीसीबारे छलफल गर्न आइतबार बिहान १० बजे गठबन्धनको बैठक बोलाइएको छ ।

गठबन्धनमा एमसीसीलाई फरक फरक मत छन् ।

फागुन १६ गतेभित्र एमसीसीलाई पारित गर्ने दबाबमा सरकार छ ।

३. आफन्तले नै गरे स्कुल बस रोकेर बालबालिकाको अपहरण

 

बिहान साढे ९ बजे । लामो समयपछि खुलेको विद्यालय । विद्यार्थीहरू स्कुल जान पाउँदा फुरुङ्ग थिए ।

रुपन्देही सैनामैना नगरपालिका–६, दूधराक्षकी पुष्पा दाहालले पनि आफ्ना छोराछोरीलाई बिहीवार (फागुन ५) गते विद्यालय पठाइन् ।

बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलमा पढ्ने छोरा प्रसिद्ध (१२) र छोरी प्रसन्न (९) विद्यालयको लु १ ख ६५८६ बस चढेर गए । तर, विद्यालयका गएका छोराछोरी साँझसम्म घर फर्किएनन् ।

नानीबाबु नफर्किएपछि पुष्पाका श्रीमान प्रेम दाहाल स्कुलमै पुगे । बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिएर गएको भने ।

त्यसपछि प्रेम छाँगाबाट खसेजस्तै भए । बसमा चढेका अरू विद्यार्थीले प्रसिद्ध र प्रसन्नलाई सैनामैना नगरपालिका बस्ने खेमबहादुर पौडेलले बसबाट झारेको बताएपछि उनीहरू अपहरणमा परेको पुष्टि भयो ।

रातिसम्म परिवार र छिमेकीले खोजे तर भेटेनन् । प्रेम शुक्रवार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरामा आफ्ना छोराछोरी अपहरणमा परेको निवेदन दिए । प्रहरीले विभिन्न युनिटहरू परिचालन गरी खोजतलास गर्ने क्रममा खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो । उनको मोबाइल दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको पत्ता लाग्यो ।

तर, सोही दिन दिउँसो साढे १२ बजे बुटवलको नेपालगञ्जरोडमा उनका भाइ गुप्तबहादुरले सुटकेस दिएको प्रहरीले सीसीटीभी क्यामेराबाट पत्ता लगायो ।

प्रहरी बसपार्क पुगेर बस काउन्टरमा गएर बुझ्दा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने टिकट काटेको भेटियो । त्यसपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भयो ।

प्रहरीले विशेष युनिट परिचालन गरी शुक्रवार दिउँसो विर्तामोडबाट ती बालबालिकालाई सकुशल उद्धार गरियो । खेमबहादुर भने पक्राउ परे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालबच्चा अपहरण गर्ने खेमबहादुरलाई शनिवार भैरहवामा सार्वजनिक गरेको छ ।

प्रहरीले खेमबहादुरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान थालेको छ । रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बालबालिकालाई परिवारको जिम्मा लगाएको बताए ।

खेमबहादुर बालबालिकाका नाताले फुपाजु पर्छन् । उनीहरूलाई पारिवारिक रिसईबीका कारण अपहरण गरेको प्रहरीको भनाइ छ ।

४. लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली वाइडबडीले पहिलो उडान भर्छः मन्त्री आले

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण सफल भएपछि नेपालकै ध्वजावाहक वाइडबडी विमानले पहिलो उडान भर्ने बताएका छन् ।

शनिवार विमानस्थलको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री आलेले क्यालिब्रेसन फ्लाइट सकिएपछि नेपाल एअरलाइन्सको ध्वजावाहक विमानबाट ‘टेष्ट फ्लाइट’ गर्ने बताए ।

क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते विमानस्थल सञ्चालन गरिने मन्त्री आलेको भनाइ छ ।

‘विगतमा ५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने कुरा भएको थियो । तर, मैले ४२ दिनमा रिपोर्ट आउने गरी अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो थाई कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु,’ मन्त्री आलेले भने ।

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनको भनाइ थियो । ‘मलाई लाग्छ हामीले चाप धान्न सक्दैनौं,’ आलेले भने ।

टर्मिनल भवन ९टी–२० को लागि अर्थमन्त्रीसँग कुरा भएको उनले जानकारी दिए । टी–२ को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।

उनले समस्याको रुपमा विमानस्थलमा हवाई अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले यो समस्या समाधानका लागि आफूले भारतका उड्डयन मन्त्रीलाई भेटेर सहयोग गरिदिनुपर्‍यो भनेर अनुरोध गरेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यसबारे कुरा राख्दिनुपर्‍यो भनेर अनुरोध गरेको तर पछि कोभिड–१९ को महामारीले भ्रमण रद्द भएको उनले बताए ।

लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडि बढाउने उनले बताए ।

५. देशभर ३५० कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

 

नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

 

६. पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

 

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोसी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।

पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भएको विषयमा समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले बम पड्काउने धम्की दिँदै अनलाइनको पेजमा अडियो म्यासेज गर्ने र अन्य व्यक्तिहरु मार्फत पनि फोन गर्न लगाई अनलाइनको कार्यालयमा धम्की दिएको घटनाको शाखाले घोर निन्दा गरेको छ ।

प्रकाशित समाचार तथा प्रयोग भएको सामग्रीप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु, कार्यालयमा बम प्रहार गर्छु भन्ने अभिव्यक्ति दिनु प्रेस विरोधी हर्कत भएकाले दोषी उपर कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन शाखाले आज विज्ञप्ति जारी गरेको छ ।

 

७. टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

 

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारी लगायतको सहभागिता थियो ।

समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ ब्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्च पासका साथै ‘यो नेपाली शीर उचाली।।।।’सहित देश प्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

 

८. झुक्याएर हालेको सिन्दुरको काम छैन, सदस्यता फ्याँकिदिनुस्, एमालेमा आउनुस्ः ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्।

‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर गुटुटु भाग्ने। के भो भन्दाभन्दै सिन्दुर फाल्यो कसले फाल्यो फाल्यो,’ ओलीले भने, ‘कहाँ कसले सिन्दुर हाल्यो खोजेर चेली जिम्मा लगाउनुपर्थ्यो, यहाँ पनि त्यस्तै कहिले माकुनेले सिन्दुर हाल्देको छ। कहिले माओवादीले। कहिले कांग्रेसले छ्यास्स हालिदिएको छ,’ शनिबार भक्तपुर नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने।

ओलीले त्यस्ता झुक्याएर हालेका सिन्दुर फ्याँकिदिन र लक्स साबुनले धोएर एमालेमा आउन अनुरोध गरे।

‘आउनुस् देश बनाउने अभियानमा लागौं, जे पनि झुक्याएर नगरौं,’ उनले भने।

संसारमा कहीँ नभएको संसदबाट नसकेरर अदालतमा मुद्दा हालेर जितेर सरकार ल्याइएको आरोप ओलीले लगाए।

‘बाजागाजासहित जन्ती निस्कियो सर्वोच्च अदालतबाट, के भएछ भनेको छ, सरकार लिएर आएछ,’ उनले भने, ‘यस्तो गजब नेपालमा हुन्छ। नेपालमा लोकतन्त्र छ चुनाव हुन्छ। अदालत सदालत केहीको लाग्दैन। अब जनअदालतले फैसला गर्छ। माओवादीले हामी चार जना राखेर जनअदालत भन्थ्यो। हामी तीन करोड जनता राखेर भन्छौं।’

 

९. सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गरियोस् : नेफेज

 

नेपाल वातावरण पत्रकार समूह (नेफेज) वातावरण विनास गर्नेमाथि कारबाहीको माग गरेको छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ(विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरुको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।ु

नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास गरियो । गत वर्षपनि गिद्धले प्रजजन गरेको यो रुखमा गिद्धको फूल भएको र त्यसबाट बच्चा कोरलेपछि मात्रै रुख काट्न संरक्षणकर्मीले जिम्मेवार निकायलाई दिएको सुझावको बेबास्ता गर्दै सडक आयोजनाले रुख काटेर विचल्ली बनाएको दाबी नेफेजले गरेको छ ।

त्यस्तै, टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैंडा मरेको घटनाप्रति पनि नेफेजले ध्यानाकर्षण भएको जनाएको छ । ‘९ माघको यो घटनाले पनि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ । वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा तिनको निर्वाध आवागमनलाई व्यवस्थित गर्न अण्डरपास जस्ता वातावरणमैत्री संरचनाहरुको निर्माण गर्नु स्वागतयोग्य छ तर, वन्यजन्तुलाई पासो थापेजस्तै खाडल खनेर त्यो त्यतिकै छोड्नु सडक आयोजनाको गम्भीर लापरवाही हो,’ नेफेजले भनेको छ ।

‘सडक बिस्तारको क्रममा कुन हदसम्म लापरवाही गरिन्छ भन्ने प्रतिनिधि पात्रको रुपमा यी घटनाहरुलाई लिन सकिन्छ । उपरोक्त घटनाहरुले दुवै सडक आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्नचिन्ह खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायहरुले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीहरुलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ ।’

तनहूँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरी छानबिन गरी दोषीमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न माग गरिएको छ ।

स्मरण रहोस्, बुटवल नारायणगढ खण्डमापनि सडक बिस्तारको क्रममा हजारौं रुखहरु अनियन्त्रित रुपमा काटिएका छन् । सरोकारवाला निकाय मौनप्राय: छ । अनुगमन नाममा मात्रै सिमीत छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win