+
+
-- Sponsored Ad --

‘सेटिङ’ गरिएको ६५ करोडको जगदुल्लाको ठेक्का पनि रद्द

368 पटक हेरिएको
Clock २०७८ चैत्र १५, मंगलवार १४:५९
-- Sponsored --

१५ चैत, काठमाडौं । डोल्पामा प्रस्तावित १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले कार्यालय र आवास निर्माणका लागि मिलेमतोमा आह्वान भएको ठेक्का पनि रद्द भएको छ । कम्पनीले एउटा मात्रै ठेकेदार कम्पनी प्राविधिक रुपमा पास हुने र आर्थिक रुपमा प्रतिस्पर्धा नै नहुने गरी ‘सेटिङ’मा टेन्डर आह्वान गरेको थियो ।

आयोजनाको प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनीले कार्यालय तथा आवास निर्माणका लागि १० माघ एक चरण दुई खामे टेन्डर आह्वान गरेको थियो । तर, अनलाइनखबरले सो टेन्डर मिलेमतोमा आह्वान भएकोबारे समाचार सम्प्रेषण गरेको थियो । मूल्य अभिवृद्धि करसहित करिब ६५ करोड रुपैयाँको ठेक्कामा सेटिङ भएको सार्वजनिक भएलगत्तै कम्पनीले टेन्डर प्रतिस्पर्धी बनाउने गरी संशोधन गर्ने बताएको थियो ।

तर, कम्पनीले सो सूचना रद्द गरेर हालका लागि प्रस्तावित योजना कर्णाली प्रदेश सरकारमातहत अघि बढाउने निर्णय गरेको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटा कर्णली प्रदेश सरकारले पनि सोही सडक निर्माण अघि बढाएकाले टेन्डर स्थगित गरिएको बताए । प्रस्तावित सडक निर्माणका लागि यसअघि नै कर्णाली प्रदेश सरकारले ठेक्का लगाइसकेको छ ।

‘टेन्डरमा केही कम्पनीममात्रै सहभागी हुने भन्ने अवस्था देखिएपछि पनि हामीले अध्ययन विश्लेषण गर्‍यौं,’ उनले भने, ‘करिब ९४० मिटरको भिर फोर्नेबाहेकको काम प्रदेश सरकारले नै गर्ने गरी टेन्डर रद्द गरेका हौं ।’

उनले टेन्डरमा नियतबस कुनै कम्पनीलाई दिने गरी योग्यता नतोकिएको दोहोर्‍याए । तर, थोरै कम्पनी मात्रै सहभागी हुने अवस्था देखिएपछि टेन्डर रद्द गरेको उनले बताए । ‘अब हुने कामहरु प्रतिस्पर्धी रुपमा ठेक्का गराएर अघि बढाउन प्रतिवद्ध छौं,’ उनले भने ।

जगदुल्ला जलविद्युत् आयोजनामा ६५ करोडको ठेक्कामा ‘सेटिङ’ 

कम्पनीले रद्द गरेको टेन्डरमा आयोजनाको कार्यालय तथा आवास निर्माणका लागि एक हजार दुई सय घनमिटरको अस्लार मेसेनरी (ढुंगाको विशेष काम) कार्य गरेका अनुभवलाई मुख्य प्राविधिक योग्यता तोकिएको थियो । योसहित अरु योग्यताहरु पनि हासिल गरेको कम्पनी नेपालमा खानी निर्माण सेवा मात्र थियो । अर्थात जगदुल्लाले खानी वा उससँग साझेदारी गरेको कम्पनी मात्रै पास हुने गरी योग्यता तोकिएको थियो । खानीसहित डोल्पाका सांसद धनबहादुर बुढाको ठेकदार बुद्धहिमाली कम्पनी र क्याराभान निर्माण कम्पनीले जेभीका रुपमा काम गर्ने गरी ठेक्का सेटिङ भएको थियो ।

नेपालमा सीमित निर्माण व्यवसायीसँग मात्रै आस्लर मेसिनरीको अनुभव छ । प्राविधिक दृष्टिकोणबाट दुर्गम भेगमा आस्लर मेसिनरी वालको काम कठिन हुन्छ । विद्युत् नपुगेका र नियमित विद्युत् आपूर्ति हुन नसक्ने क्षेत्रमा झन कठिन हुन्छ । प्रायः आस्लर मेसिनरी प्रविधि धार्मिक मठमन्दिर, गुम्बा, पार्क जस्ता ठाउँमा प्रयोग हुन्छ । यसमा पर्खालमा समान किसिमको ढुंगा राखिन्छन् । ढुंगाहरु कुँदेर एउटै खालको आकृति कोरिन्छन् । कार्यालय र आवासीय भवन बनाउन यस्तो विशिष्ट कामको अनुभव किन मागिएको हो भन्ने स्पष्ट थिएन । अस्लारको अनुभव आवश्यक नपर्ने ठेक्कामा अस्लार घुसाएपनि नेपाल निर्माण व्यवसायी महासंघले पनि विरोध गरेको थियो ।

ठेक्काको मिलेमतो स्वीकार्दै पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा

सरकारले जगदुल्ला जलविद्युत् आयोजनाको लाइसेन्स २०७६ को असारमा जारी गरेको थियो । जगदुल्ला हाइड्रोपावर कम्पनी सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीको सहायक कम्पनी हो । अध्ययन भइरहेको आयोजना निर्माणका लागि वित्तीय स्रोत टुंगो लागेको छैन ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको हुरिकोट र इलामा निर्माण हुने आयोजनास्थलसम्म पुग्न पहुँच सडक छैन । आयोजनाको निर्माण अनिश्चित रहेको अवस्थामा हतार–हतारमा कार्यालय तथा आवास निर्माणका लागि समेत ठेक्का आहृवान गरिएको थियो ।

अहिले आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रशारण लाइनको कामको लागि पूर्वयोग्यता निर्धारण गरेर प्रारम्भिक छनोटको काम अघि बढाउन लागिएको छ । तर, कार्यालय र क्याम्प निर्माणकै क्रममा ‘सेटिङ’को प्रयत्न भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win