0 प्रतिक्रिया
पोखराको मेयरमा उपमेयर गुरुङले किन देखाइनन् चाहना ?
३० चैत, पोखरा । पोखरा महागरपालिकाको मेयरमा नेकपा एमालेबाट १२ जना आकांक्षी देखिँदा हालकी उपमेयर मञ्जुदेवी गुरुङले दावी नै गरिनन् ।
पार्टी केन्द्रीय सदस्य र राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहेकी उनी उपमेयरका रुपमा पाँच वर्षको अनुभव संगालेका कारण पनि मेयरको दाबेदारको रुपमा हेरिएको थियो ।
मञ्जु राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् भने मीना उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङकी सम्धिनी हुन् । फागुन २७ मा मात्रै उपप्रमुख गुरुङले राष्ट्रपति भण्डारीकै उपस्थितिमा पोखरामा स्थानीय तहको न्यायिक समितिको राष्ट्रिय सम्मेलन गरेकी थिइन् भने यसबीचमा पटकपटक केन्द्रीय नेतृत्वसँग भेटघाटका लागि काठमाडौं पनि पुगेकी थिइन् ।
पोखराका मेयरमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।
मेयरको आकांक्षी धेरै भएकाले आफूले निवेदन नदिएको उपमेयर गुरुङले बताइन् । ‘उसै पनि १२ जनाले आकांक्षा देखाउनुभएको छ । मलाई १३ औं नम्बरमा पर्न मन भएन,’ उनले भनिन् ।
मेयर पदमा आफू जान नपाए पनि ५ वर्ष उपप्रमुखका रुपमा महानगरमा सेवा गरिसकेकाले सन्तुष्ट रहेको गुरुङको भनाइ छ । ‘५ वर्ष उपप्रमुख भएर सेवा गरें । बीचमा कार्यवाहक भएर पनि चलाउने मौका मिल्यो,’ गुरुङ भन्छिन्, ‘मैले नै पाउनुपर्छ भन्ने छैन । नयाँले पनि अवसर पाउनुपर्यो भन्ने हो ।’
महानगर प्रमुख मानबहादुर जिसीलाई साउन १ गते मस्तिष्कघात भएपछि उनी अस्वस्थ छन् । मेयर जिसीले काठमाडौंमा उपचार पश्चात पोखरा फर्किएर असोज २५ गते कार्यवाहकको जिम्मा उपप्रमुख गुरुङलाई दिएका थिए ।



