खेमराज जम्मर कट्टेल: पछिल्लो समय जुनसुकै मिडिया वा सामाजिक संजाल खोल्यो, हेडलाइन नै इजरायल र इरानको युद्ध। जति हेर्‍यो उति तनाव, उति डर अनि उति सशंकित। के गर्ने असर सिङ्गो संसारमा परेको छ। सानो भूगोलको तातोले सारा पृथ्वी तताएर राखेको छ। मानौं, कुनै भयानक युगको ढोका अब चाँडै खुल्दैछ। युद्ध त देखिन्छ, धेरै देखिएका छन् दुई देशबीचको, तर यति धेरै तह र आयाम छन् कि यस युद्धमा! धर्म, इतिहास, राजनीति, ग्याँस-तेलको ब्यापार, अनि भित्रभित्रै सल्किदै गरेको अमेरिका, चीन, रुसजस्ता महाशक्तिहरूको गजबको शीतयुद्ध ।

यो युद्धले सबैभन्दा पीडादायक कुरा-बीचमा परेका छन् हजारौं प्रवासी नेपालीहरू। खासगरी ती दिदीबहिनी र दाजुभाइ, जो इजरायल र दक्षिण एशियाका गल्फ देशहरूमा पसिना बगाइरहेका छन्। उनीहरूका लागि युद्ध भनेको जताततै साइरन, बंकरतिर कुद्नु, अनि संजालमा आएका न्युज हेडलाइनभन्दा सय गुणा बढी मानसिक रूपमा डरलाग्दो वास्तविकता। एक्कासी बिहान आँखा खुल्दा हावा भरिएको सपनाको ठाउँमा डर, तनाव र अनिश्चितता। देशबाट यति टाढा गएर पनि, घर सम्झेर भावुक हुनुपर्ने जिन्दगी।
विश्व राजनीतिमा एकैपटक हल्लिएको विश्वको नक्शा
संसारभरको राजनीति झन् झन् गिजोलिरहेको छ। इजरायल-इरान युद्धले मध्यपूर्व मात्रै हैन, सिङ्गो विश्वको रङ्ग नै फेरिदिएको छ। अमेरिका, बेलायत, जर्मनी खुलेर इजरायलको पक्षमा रहेका छन्। तीनै देश जुन बेला जहाँ समस्या, त्यहीँ आफ्नो ध्वजावाहक लिएर पुग्थे। उता रुस, चीन, अनि धर्मको नाममा बोल्ने इस्लामिक मुलुकहरू इरानको पक्षमा। संयुक्त राष्ट्रसंघको खासै सुनुवाइ देखिँदैन मानौ उ आफै आफ्नै अस्तित्वमाथि प्रश्न उठेर थला परेर बसेको छ।

यो सबैको असर भोलिका दिनमा कहाँसम्म पुग्ने! जलवायु सम्मेलन हुन्, शान्ति मिसन चल्नु, ठूला देशहरूको गोप्य भेला, बैठक तथा सम्मेलनहरुले सबैतिर शीतयुद्धको झल्को आउँछ। साना देशहरु लुकामारी खेल्दा, ठूला देशहरूले त्यति नै टाढासम्म कूटनीतिक चाल चलिरहेका छन्। यसले विश्व व्यापार, अन्तर्राष्ट्रिय सहयोग, सम्पूर्ण मानवता नै संकटमा पर्ने अवस्थातिर लम्किरहेको आभास हुन्छ।

युद्धको बीचमा अल्झिएका इजरायलका नेपाली
नेपालीहरू इजरायलमा करिब ६-७ हजार रहेको भनिएको छ, अधिकांश धेरै महिलाहरु रहेका छन्। विचार गरौं त, घरमा उमेर पुग्दा रोजगारी परिवार, आफन्त, बाआमा, प्रिय मान्छे अनि काखे सन्तान छोडेर बिदेशिनुमात्रै कति ठूलो निर्णय हो उनीहरूको। उनीहरूले सोचेका थिए होला, काम गर्छु, पैसा पठाउँछु, घर बनाउँछु। तर, अहिले उनीहरूका सपनामाथि डर, तनाव, मनोवैज्ञानिक असर अनि निर्दोष आँखामा आँसु। कस्तो भयावह अवस्था!

दिनहुँ साइरन बज्नेबित्तिकै बंकरतिर हाम फाल्नुपर्ने, कतिको काम डरमा रातभर सुत्न नसक्ने, अनि टाढा नेपालका परिवारको आँसु पुछ्ने कोही छैन। यता आफ्नै उमेर र जवानीले बाटो काट्दै छ अनि, त्यो मानसिक दबाब! एकातिर आफ्नै सुरक्षाको चिन्ता, अर्कोतिर परिवारलाई छाती दह्रो बनाएर ढाडस दिनुपर्ने। लामो समयसम्म यस्तो तनावमा बाँच्नुपर्छ भने, मानिसको मन भित्रैबाट कति भत्किएला, कति पोल्छ होला! जुन कुरा यहाँ हुने अधिकांश नेपालीहरूको मनमा खड्किए पनि परिवारको अवस्था, सन्तानप्रतिको भविष्यको चिन्ताले र कति व्यवहारिक पक्षहरूका कारणले कसैसँग खुल्न सक्दैनन, मनभित्रको पिढा खोल्न भन्न सक्दैनन। मानौं उनीहरू चट्टान भइसकेका छन्, त्यो पनि खोक्रो चट्टान।

वैदेशिक रोजगारी भनेको नेपाली समाजमा अझै ‘सपना’ हो, तर इजरायलमा हालको स्थितिभन्दा माथि युद्ध लम्किए त्यो सपना भाँचिएको ऐना जस्तै छरपस्ट हुन सक्छ। सपनाको नाममा डरको व्यापार हुनु भनेको कति पीडादायक कुरा हो भनेर सोच्न पनि गाह्रो हुन्छ।

इजरायली अर्थतन्त्रको संकट र नेपाली रेमिट्यान्स
युद्धले अर्थतन्त्रलाई राम्रोसँग झट्का दिएको छ। इजरायलको सरकार सैन्य खर्चमा तल्लीन, सामाजिक बजेट घटाउने, विकासका सबै कुरा केहि समय ठप्प हुने सम्भावना उच्च रहेको छ।
– कृषि निर्यात रोकिन सक्ने र मूल्य वृद्धि हु ।
– निर्माण क्षेत्र ठप्प हुनसक्ने।
– सेवा क्षेत्रको माग हराउँदै जाने सम्भावना।

यसको असर विदेशी कामदारहरूमा पर्ने देखिन्छ खास गरी नेपालीहरूमा। यता नेपालमा त रेमिट्यान्स नै देशको मेरुदण्ड। इजरायलबाट आउने अर्बौँ रुपैयाँ रोकिएर आयो भने नेपालको बैंक, बजार, व्यापार घाटा, सबैतिरै छालझैँ असर पर्न सक्छ नै यसको सिधा असर परिवार र समाजमा पनि देखिन्छ। नेपालले अब अर्को संकटको लागि तयार रहने की, अझै पनि श्रम-निर्यातको सस्तो सजिलो बाटो रोजिरहने अब आफ्नै देशमा रोजगारी सिर्जना गर्ने कुरा सोच्ने बेला आइसकेन र? सरकारको कानमा घण्टी बज्नुपर्ने बेला अब ढिलो भइसकेन र?

नेपाल सरकारको पहल
इजरायलमा युद्ध सुरु भएको हप्ता बितिसकेको छ। अहिले नेपाल सरकारले फर्कन चाहनेहरूका लागि राजदूतवासमार्फत फर्म खुलाए पनि दीर्घकालीन समाधानका लागी कुनै स्पष्ट नीति सुरक्षा योजना बनाएको भन्ने प्रवासी नेपालीहरूलाई छोएको पाइँदैन।
– नेपालीको सुरक्षाका लागि स्पष्ट कूटनीतिक पहल।
– वैकल्पिक रोजगारको नीति गफ र कागजमा मात्रै सीमित।
– तनावमा रहेका नेपालीहरूमा पर्ने मनोवैज्ञानिक असरमा नियमित परामर्श र सहयोग।

सरकारको कछुवा उदासीनताले भोलिका दिनमा ठूलो सामाजिक संकट बन्न सक्छ। अब सरकार जाग्नैपर्छ! विदेशी रोजगारी नीति, आपतकालीन अवस्था आइपरे तत्काल उद्धार योजना नीति, मनोवैज्ञानिक परामर्श र डिजिटल साक्षरतामा सबैको सशक्त संयोजन चाहिन्छ। नत्र, हरेकपटक यस्तै खाले संकट आउँदा, हामी हातमुख जोर्न, यसरी नै लेख्न, बोल्न र कराउन बाहेक केही गर्न सक्दैनौं।

सूचना युद्ध : फेक भिडियो र समाचार 
अब त युद्ध साईकन र बमको मात्रै होइन, इन्टरनेटको फेक भिडियो, अफवाह, डरको व्यापार। युट्युब, टिकटक, फेसबुक, जहाँ हेरे पनि, पुराना भिडिओ ‘ब्रेकिङ’ भन्दै हल्ला। हताहतीको गलत विवरण, साइरन, आगलागी, रगत, आँसु, सबैलाई नाटकीय बनाएर देखाउने अर्थात् भाइरल बन्ने होड।

नेपालमा रहेका परिवारजनले ती भिडिओ हेरेर रातभर सुत्न सक्दैनन् आफ्ना मान्छे गुमायौँ कि भन्ने डर। कतिले त झगडा गर्छन्, ‘किन पठायौ, किन गएको त, अनि किन बसेको फर्किनुनि भन्ने बचन र आरोप। मानसिक तनाव, स्वास्थ्य समस्या बढ्दै जान्छ। यस्तो सूचना युद्धले समाजमा र परिवारमा भित्रभित्रै दरार ल्याइरहेको छ। अब सरकार र समाज दुवैले डिजिटल साक्षरता, अफवाह विरुद्धको सचेतना, अनि सही सूचना प्रवाह सुनिश्चित गर्नैपर्छ। नत्र, हामी नै आफ्ना प्रियजनको पीडामा थप घाउ लगाइरहेका हुनेछौं।

इजरायली सरकारको मिडिया नीति, सूचना र नियन्त्रण
इजरायल सरकारले युद्धको समयमा मिडियालाई कडा नियन्त्रणमा राख्ने गरेको छ।
– सैन्य सूचनाहरू प्रसारण गर्न नपाइने गरे पनि भेरिफाइड हुनुपर्ने।
– सार्वजनिक सूचना रेडियो, अर्लट सिस्टमहरुमा सरकारको प्रत्यक्ष निगरानी।
– फेक न्यूज फैलाउनेलाई काराही।

तर, बाह्य मिडिया, युट्युबर, फेसबुक पत्रकारिता भने चलिरहेको देखिन्छ त्यो पनि सत्यभन्दा बढी अफवाह, डर फैलिरहेको देखिन्छ। यो उही ‘सूचना युद्ध’ हो, जसले हरेक घरभित्र आगो सल्काएको छ। नेपाल सरकारले पनि अब फेक सूचनाविरुद्ध ठोस अभियान, डिजिटल साक्षरता र निगरानीलाई प्राथमिकता दिनैपर्छ। अहिलेको युगमा, विकास र परिवर्तनको बाधकनै सूचना अस्त्र बनेको छ जुन कुराले देशलाई झन झन खोक्रो बनाइराखेको छ।

नेपालीहरूमा मनोवैज्ञानिक र सामाजिक असर, भित्रभित्रै भत्किँदै
सबैभन्दा डरलाग्दो कुरा यो युद्धले पार्ने मुख्य मनोवैज्ञानिक असर।
– निरन्तरको तनाव
– अब थप युद्ध चर्किए फर्कन उपायबारे अन्योलता
– फेक समाचार र भिडियोहरुले परिवारमा तनाब र डर
– पारिवारिक सम्बन्धहरुमा टुटफुट
– भविष्यप्रति निराशा

यी सबै कुराहरुले प्रवासी नेपालीहरूको आत्मबललाई तहसनहस बनाउँदै छन्। लामो समयसम्म यस्तो दबाबमा रहनुपर्ने बाध्यता बिच फर्किनै परे कसरी फर्किन पाउने भन्ने चिन्ता, न समदाय र राज्यको मनोवैज्ञानिक परामर्श, समर्थन, संवेदनशीलता आदि यस्ता कुराहरूमा राज्य, समाज, परिवारले बेलैमा ध्यान नदिए अन्ततः युद्धको घाउ शरीरमा लागी गएपनि मनमा बढी रहन्छ जुन निको हुन वर्षौं लाग्छ।

इजरायल-इरान युद्ध, झट्ट सुन्दा त दुई देशको मात्रै कुरा जस्तो लाग्छ। तर, भित्रभित्रै यो त मानवता, भूराजनीति, अर्थ, मनोविज्ञान र धर्म बिच सबैको जटिल गाँठो हो जुन फुकाउन भन्दा कस्न लागेका छन्। नेपालका लागि पनि यो एकदमै गहन बिषय हो । भविश्यमा तटस्थ कूटनीति, वैदेशिक रोजगारी नीति, नागरिक सुरक्षा सबैतिर एकैपटक सन्तुलन खोज्नुपर्ने बेला आएको र आइपर्ने वाला छ।

अब चुप लाग्ने समय छैन। नीति, पहलकदमी, मानवीय बुझाइ सबैमा अग्रसर बनाइनुपर्छ । नत्र, हाम्रो मौनता नै हाम्रो कमजोरीको साक्षी सधैँ बनिरहने छ। समयमै नजाग्ने हो भने, भोलि इतिहासले प्रश्न गर्छ। तिमीहरू किन चुप बस्यौं? धिक्कार छ तिमीहरूलाई। #अन्नपुर्ण पाेस्टबाट