0 प्रतिक्रिया
इम्बोस्ड र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने
२० असार, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य र त्यसको सुधारका लागि अध्ययन गर्न समिति बनाउने भएका छन् । उनले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताएका छन् ।
मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गरेका थिए । तर, मन्त्री राईले सचिव सिग्देलललाई सोसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नबर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्ने गरी मस्यौदा बनाउन निर्देशन दिएका छन् ।
उनले टेन्डर भएर रुग्ण भएका आयोजनाहरुबारे अध्ययन गर्न पनि अर्को समिति बनाउन निर्देशन दिएका छन् । भौतिक पूर्वाधार देशकै सबैभन्दा धेरै पूँजीगत खर्च गर्ने मन्त्रालय भएको भन्दै उनले अब रुग्ण आयोजनालाई सहनशीलताको नीतिबाट नहर्ने बताए । रुग्ण आयोजनालाई कसरी सुधार गर्ने भन्नेबारे अध्ययन गरेर सुझाव दिन पनि मन्त्री राईले बताए ।




