0 प्रतिक्रिया
संवैधानिक राजसंस्थाको पक्षमा खुले रवीन्द्र मिश्र
३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् ।
मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ ।
राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेकशील साझा पार्टी फुट्यो । स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिएका थिए ।
गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ ।
अब ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उनले बताएका छन् । नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।



