0 प्रतिक्रिया
कुन दलले कति सिट जित्ला ? सम्भावित ४ दृश्य
२७ कात्तिक, काठमाडौं । चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका प्रशस्तै उदाहरणहरु छन् ।
तर निकट विगतको चुनावी नतिजा र चुनावका क्रममा बनेको राजनीतिक समीकरणलाई आधार मानेर पूर्वानुमान गर्न सकिन्छ । जसरी कुनै खेलमा खेलाडी र उसको टिमको पृष्ठभूमिलाई आधार मानेर नतिजाबारे पूर्वानुमान गर्ने प्रचलित विधि छ ।
साथै, स्थानीय चुनावपछि गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हाम्रो नेपाली पार्टी (लौरो अभियान) को केही क्षेत्रमा राम्रो प्रभाव देखिन्छ । नयाँ पार्टीहरुले प्रतिनिधिसभाको केही निर्वाचन क्षेत्रको जित हारमै प्रभाव पारे पनि समग्रमा कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धनकै प्रतिस्पर्धा हुने देखिन्छ ।
पहिलो : १३४ र ३० को आंकडा
सबभन्दा पहिला दुबै गठबन्धनमा आवद्ध दलले वडाध्यक्षमा पाएको मतका आधारमा आउने नतिजा हेरौं ।
सत्ता गठबन्धनमा आवद्ध दलका वडाअध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा जसको बढी आउँछ, त्यसले जित्छ भन्ने मान्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनले १३४ र एमाले नेतृत्वको गठबन्धनले मात्र ३० निर्वाचन क्षेत्रमा चुनाव जित्ने छ । भक्तपुर क्षेत्र नम्बर १ मात्रै यस्तो एउटा क्षेत्र हो, जहाँ दुबै गठबन्धन जित्ने छैन । त्यहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सबभन्दा धेरै भोट छ ।
यो आंकडाअनुसार, सत्तारुढ र एमाले दुवै गठबन्धनले शतप्रतिशत सफलता पाउँदाको स्थिति हो । तर यस्तो नजिता आउने सम्भावना अत्यन्तै न्यून हुनेछ ।
दोस्रो : ८५/७९ को आंकडा
सत्तारुढ कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ । लोसपासँग प्रदेश २ मा मात्र गठबन्धन हो भने अरु दलसँग देशभर । स्थानीय निर्वाचनको पहिलो दल र तेस्रो दलले देशभर तालमेल गर्नु र त्यही गठबन्धनमा अरु दल पनि थपिनु सत्ता गठबन्धनका लागि चुनावी अनुकलता हो ।
तर एउटा पार्टीको समर्थकको मत अर्को पार्टीका उम्मेदवारमा जानु (मत ट्रान्सफर) उनीहरुका लागि चुनौती हो । एउटा दलले पाएको मत अर्को दलका उम्मेदवारलाई दिलाउन सजिलो कुरा होइन । किनकि निकै कम मत भएको पार्टीका उम्मेदवारलाई ठूलो मत पाएको पार्टीले समर्थन गरेको अवस्था छ ।
यदि सत्ता गठबन्धनको उम्मेदवारले गठबन्धनकै अर्को सहयात्री दलबाट ५० प्रतिशत मात्र मत पायो र बाँकी मत अर्को गठबन्धनका उम्मेदवारलाई गयो भने नजिता हेरफेर हुनेछ । गठबन्धनको मत ५० प्रतिशत पनि ट्रान्सफर भएन भने १३४ को आंकडा घटेर ८५ मा झर्नेछ र, एमाले नेतृत्वको गठबन्धनको सिट ३० बाट बढेर ७९पुग्नेछ । र नेमकिपाको एक सिट कायमै रहनेछ ।
यो अवस्थामा गठबन्धनमा रहेका दलहरुले समानुपातिक पद्धतिमा पाउने सिटका आधारमा बहुमतको सरकार बनाउन सक्छन् । चुनावी अंकको विश्लेषण गरिरहेका कांग्रेस नेता डा. मिनेन्द्र रिजाल भन्छन्, ‘८५ ठाउँमा मात्रै चुनाव जिते समानुपातिक जोड्दा गठबन्धनको बहुमत पुग्छ, सरकार बनाउने आधार बन्छ । तर त्यति थोरै ठाउँमा अपेक्षित सफलता प्राप्त नभएकोमा एकअर्का प्रति औंला उठाएर नयाँ गठबन्धन निर्माण गर्ने बाटोको खोजी गर्ने सम्भवना हुनसक्छ ।’
किनकी एमालेले झापा, रुपन्देही र बाँकेमा राप्रपासँग तालमेल गरेको छ भने जसपासँग तराई–मधेसका १४ जिल्लामा तालेमल गरेको छ । राप्रपा नेपालसँग मकवानपुरमा र जनता प्रगतिशील पार्टीसँग नवलपरासीमा तालमेल गरेको छ । यो गठबन्धनमा अरु दलको तुलनामा जसपा र एमालेको मत ट्रान्सफर सजिलो हुनेछैन । किनकी उम्मेदवारी दर्ताको दुई दिनअघिसम्म जसपा सत्तारुढ गठबन्धनमै थियो र एमालेसँग तिक्ततापूर्ण सम्बन्ध थियो ।
सत्तारुढ गठबन्धनमा जस्तै एमाले गठबन्धनमा पनि ५० प्रतिशत मात्र मत ट्रान्सफर भयो, र बाँकी मत अर्को गठबन्धनका उम्मेदवारलाई गए नतिजा बदलिनेछ । यो अवस्थामा कांग्रेस गठबन्धनले १०६ सिट जित्नसक्छ भने एमाले गठबन्धन ५७ सिटमा खुम्चिन सक्छ ।
तेस्रो : ९८/६६ को आंकडा
सत्ता गठबन्धनको मत ट्रान्सफरको दर ५० प्रतिशतबाट बढेर ६० पुग्ने हो भने नतिजा कस्तो होला ? स्थानीय चुनावको नतिजाको आधारमा भन्न सकिन्छ, सत्ता गठबन्धन ९८ सिटमा पुग्छ भने एमाले गठबन्धन ६६ मा झर्छ । अझ एमाले गठबन्धनमा पनि मत ट्रान्सफरको समस्या देखियो भने सत्ता गठबन्धनले १०० कटाउनेछ ।
यो तथ्यांकअनुसार, सत्ता गठबन्धनको कांग्रेसले ५८ सिट जित्नेछ भने माओवादीले २७ (स्वतन्त्रसहित), एकीकृत समाजवादीले १०, लोसपाले ३ सिट जित्नेछ । अर्को गठबन्धनबाट एमालेले ५२, जसपाले १०, राप्रपाले ३ र जनता प्रगतिशीलले १ सिट जित्नेछ । नेमकिपाको खातामा पनि एक सिट हुनेछ ।
चौथो : १११/५३ को आंकडा
सत्ता गठबन्धनको मत ट्रान्सफर अझ बढ्यो र ८० प्रतिशत पुग्यो । बाँकी २० प्रतिशतमध्ये १० प्रतिशत अर्को गठबन्धनका उम्मेदवारले पाए र बाँकी अन्यत्र गयो भने ? यो अवस्थामा सत्ता गठबन्धन १११ सिट भन्दा अगाडि हुनेछ । कांग्रेसले ६२, माओवादी केन्द्रले ३० (स्वतन्त्रसहित), एकीकृत समाजवादीले १३, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले २ सिट जित्नेछ ।
एमाले गठबन्धनसँग ५३ सिट हुनेछ । जसमा एमालेको ३९, जसपाको १०, राप्रपाको ३ र जनता प्रगतिशील पार्टीको एक सिट हुनेछ । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी नै हुनेछ ।
र, नतिजा प्रभावित पार्ने पक्षहरु
यी सबै आंकडा निकालिरहँदा दलहरुभित्रको असन्तुष्टि र बागी उम्मेदवार बिर्सन मिल्दैन । गठबन्धन गरेकै कारण असन्तुष्ट नेताहरुले पार्टीकै निर्णयविरुद्ध बागी दिएका छन् । चितवन ३, सर्लाही १, पर्सा १, सुनसरी १ जस्ता क्षेत्रमा बागीको असर पर्न सक्छ । जसले स्थानीय चुनावको नतिजा र गठबन्धनको समीकरणका आधारमा गरिएको नतिजा पूर्वानुमान बदलिन सक्छ ।
अर्काे पक्ष, नयाँ दल र स्वतन्त्र उम्मेदवारीप्रति मतदातामा देखिएको रुझानले चुनावी नतिजामा असर पार्नेछ । काठमाडौं–८ लगायत कतिपय क्षेत्रमा हाम्रो नेपाली पार्टी (लोरो अभियान) र चितवन २, ललितपुर ३ सहित शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो प्रभाव देखिएको छ ।
तराई–मधेसका जिल्लामा जनमत पार्टी र मोरङ–३, चितवन–३ लगायत क्षेत्रमा राप्रपाले पाउने मतले पनि यी पूर्वानुमान बदलिनेछ ।
विशेष गरी यहाँ प्रस्तुत गरिएको पूर्वानुमानलाई असर पार्ने महत्वपूर्ण पक्ष भनेको राजनीतिक दलहरुको एजेण्डा र उम्मेदवारको व्यक्तिगत पृष्ठभूमि हो । राष्ट्रिय राजनीतिक घटनामा उक्त दलले खेलेको भूमिका र प्रस्तुत अभिव्यक्ति (प्रतिवद्धतापत्र) ले मतदाताको मन बदलिन सक्छ । चुनावी प्रचारकै क्रममा पनि राजनीतिक नेतृत्व वा उम्मेदवारले आफ्नो पक्षमा माहोल ल्याउन सक्छ ।
निकट विगतको नजीर र अहिले आमवृत्तिमा भइरहेको छलफलका आधारले पनि उम्मेदवारको पृष्ठभूमिले चुनावी नतिजामा असर पर्नेछ । कमजोर संगठन र दलको टिकटबाट पनि चुनाव जितेको, अनि बलियो संगठनका उम्मेदवार पनि हारेको प्रशस्त उदाहरण हामीसँग छ । त्यसको पछाडि उम्मेदवारको पृष्ठभूमिले काम गरेको छ । आउने चुनावमा यो पक्षको असर देखिनेछ ।
(ग्लोबल इन्ष्टिच्युट फर इन्ट्राडिसिप्लिनसरी स्टडिजको टिमको सहयोगमा )






