
१४ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए ।
शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् ।
प्रतिनिधिसभामा २० सिट रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन पुर्याउनुपर्ने प्रक्रिया पूरा नगरेको घटनामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । सो घटनापछि लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पनि गुमाएका छन् ।
मिश्रित निर्वाचन प्रणालीमा कसैको पनि बहुमत आउँदैन भन्ने थाहा हुँदाहुँदै संविधानमा यस्तै व्यवस्था राखिएको भन्दै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङले भने, ‘यी सम्पूर्ण कुराहरुलाई जनताले जनताका लागि बनाएको संविधान अन्तर्गत हामी पार लगाउँछौं ।’