
१८ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन एकीकृत समाजवादीलाई आग्रह गरेको छ ।
नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बिहीबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगर पुगेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेर एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने यो भेटले सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने आधार बनेको बताएका छन् । तर कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक भएकाले तत्काल यसो गर्छौं भन्ने परिस्थिति नभएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।