0 प्रतिक्रिया
बालुवाटारमा तयार भयो प्रधानमन्त्रीको सार्वजनिक भवन
१ चैत, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ भन्छन्, ‘इन्टेरियरसहित सबै काम सकिएको छ । सम्माननीय (प्रधानमन्त्री) ले बुधबारदेखि बैठकहरु गर्न थाल्नुभएको छ ।’
प्रधानमन्त्रीको नयाँ निवासमा के छ ?
प्रधानमन्त्रीको आवास भवन तीन तलाको छ र त्यसमा २२ वटा कोठा छन् । तल्लो तलामा भान्सा, भोजन कक्ष र लबि छन् भने दोस्रो तलामा बैठक र शयन कक्ष छन् । यस्तै माथिल्लो तलामा दुई वटा पाहुना कोठा, शयन कक्ष, लबि, भोजन कक्ष, पूजाकोठा र हलसमेत छ । यो भवन मंसिरमै तयार भएको थियो ।
सार्वजनिक भवन भने हालै तयार भएको छ । यो पनि तीन तलाकै छ । अब प्रधानमन्त्रीले पाहुना भेटघाट यही भवनमा गर्नेछन् । यहाँ मन्त्रिपरिषद् बैठकका लागि छुट्टै कोठा बनाइएको छ । मिडिया कक्ष र सचिवालय पनि राखिएको छ ।
बंकर समेत भएको दुबै भवन नेपाली परम्परागत शैलीमा बनाइएको छ ।



