स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा

२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।

ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो ।

पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ असारमा परीक्षण गरिएको नमुनामध्ये ०.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २० साउनमा आइपुग्दा यो संक्रमण दर बढेर १५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

कोरानोको नर्मल, मध्यम र उच्च खालको अवस्थालाई हेरेर प्रक्षेपण गरिएको ईडीसीडीका एक अधिकारी बताउँछन् ।

‘कोरोनाको चौथो लहर कस्तो अवस्थामा पुग्छ भन्ने निर्धारण विभिन्न कारक तत्वले गर्छ । अहिलेको अवस्था नर्मल र मध्यमको बीचमा रहेको जस्तो देखिन्छ,’ ती अधिकारीले भने । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि १ हजार आसपास छ । तर यो संख्या आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार संक्रमित हुँदा रोकथामका लागि कति आइसीयू, भेन्टिलेटर, बेड लगायतका अन्य समान चाहिन्छ भनेर तयारीको लागि प्रक्षेपण गरिएको हो ।

धुलिखेल अस्पतालले पछिल्लो हप्ता गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा प्राप्त नतिजा अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ ले मुल ओमिक्रोन (बीए.टु) विस्थापित गर्दै लगेको छ ।

ओमिक्रोन मुल (बीए.टु) भन्दा सबभेरियन्ट ‘बीए.फाइभ’ ६० गुणा बढी रफ्तारमा फैलिने भएकाले यो धेरैमा सर्ने धुलिखेल अस्पतालका प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठ बताउँछन् । ‘हालको संक्रमणदर हेर्दा उच्च हुँदै गएको देखिन्छ । दैनिक गरिएको परीक्षणमा अधिकांश मानिसमा संक्रमण पुष्टि हुन्छ,’ डा. श्रेष्ठले भने, ‘बिहीबार गरिएको परीक्षणमा ३६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । तीन महिना अगाडि एक प्रतिशतमा संक्रमण थियो ।’

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला पनि सरकारले गरेको आकलनमा सहमत छन् । भन्छन्, ‘अबको तीन–चार हप्तामा संक्रमणको उच्च विन्दुमा पुग्छौं । त्यसपछि बिस्तारै संक्रमण घट्दै जाला ।’
जनस्वास्थ्यविद्हरु समुदाय स्तरमा संक्रमणका केसहरु रहेकाले परीक्षणको दायारालाई बढाउनुपर्ने बताउँछन् ।

‘अहिले विदेशमा जाने मानिसको मात्रै परीक्षण भइरहेको छ । समुदायमा कोरोना लक्षण भएका सबै र उनीहरुको सम्पर्कमा आएका मानिसलाई परीक्षणको दायरामा ल्याउन सकेमात्र कोरोनाको फैलावटलाई रोक्न सकिन्छ,’ डा. बास्तोला भन्छन्, ‘ओमिक्रोनको सब भेरियन्टले संक्रमण गराउने भएता पनि गम्भीरता भने कम भएको पाइएको छ । ’

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले एक डोज र ७०.६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै, २५.५१ प्रतिशत अर्थात् ७३ लाख ३४ हजार ५ सय ५ जनाले बुस्टर डोज लिएका छन् ।

एक चौथाईले मात्रै बुस्टर डोज लगाएकाले सरकारले तत्काल नै थप खोप दिनुपर्ने डा. बास्तोलाको भनाइ छ । ‘धेरै मानिसले अतिरिक्त खोप पाएका छैनन् । केही मानिसले बुस्टर डोज लगाएको पनि धेरै समय भइसकेकोले प्रभावकारिता घट्दै गएको छ,’ उनले भने, ‘अब अतिरिक्त खोपको कभरेज बढाउँदै नयाँ भेरियन्ट अनुसारको खोप नेपाल ल्याउन सरकार केन्द्रित हुनुपर्छ ।’

हालसम्म देखिएको अध्ययनका अनुसार ओमिक्रोनको सबभेरियन्टले मृत्युदर कम देखिए पनि पटक–पटक संक्रमण हुँदा पोस्ट कोभिडका समस्या केही महिनामा पुन देखिने डा. बास्तोलाको आकलन छ ।
स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कर्ण दास भने अबको केही हप्तामा अतिरिक्त खोप लगाउनेहरु बढ्ने दाबी गर्छन् । भन्छन्, ‘कोरोनाको संक्रमण बढेसँगै हामीले प्रदेश र स्थानीय पालिकासँग बुस्टर डोजको कभरेज बढाउन अनुरोध गरेका छौं । पछिल्ला दिनमा स्थानीय तहबाट खोपको माग बढ्दो छ । केही हप्तामा कभरेज बढ्ने देखिन्छ ।’

हाल दैनिक पीसीआर र एन्टिजेन गरेर ६ हजारको हाराहारीमा नमूना परीक्षण भइरहेको छ । जसमा संक्रमणदर १५ प्रतिशत पुगेको छ । तर, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सरकारले प्रर्याप्त रुपमा परीक्षण नगर्दा संक्रमण फैलिरहेको बताउँछन् । ‘संक्रमण बढी फैलिरहेको ठाउँ, संक्रमितको सम्पर्कमा आएका तथा बढी जोखिममा भएका मानिसमा परीक्षण अनिवार्य रुपमा गर्नुपथ्र्यो,’ डा. मरासिनी भन्छन्, ‘सरकारले परीक्षणमा ध्यान दिन सकेको छैन । धेरै मानिसहरु शुल्क लाग्ने भएकाले पनि परीक्षण गरेका छैनन् ।’

सरकारसँग पीसीआर किट जम्मा तीन लाख मात्रै बाँकी

संक्रमण दिनदिनै बढ्दै जाँदा भने सरकारले पीसीआर किटको जोहो भन्ने गर्न सकेको छैन । व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार हाल पिसिआर किट तीन लाखको मात्रामा बाँकी रहेको छ । ‘मन्त्रालयबाट अहिले पीसीआरको किट खरिद नगर्नु भनेको छ,’ व्यवस्थापन महाशाखाका अधिकारी भन्छन्, ‘संक्रमण बढिरहेको छ । तर, पीसीआर किट हामीसँग थोरै छ ।’

अहिलेको संक्रमण लहर अर्को लहर ल्याएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी बताउँछन् । ओमिक्रोनलाई रोकथाम गर्न नसकिए चुनौतीपूर्ण अवस्था आउने उनको भनाइ छ ।

‘अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ । ओमिक्रोनको सब भेरियन्टले धेरै जटिल बिरामी भर्ना भएका छैनन् । संक्रमण बढ्दै गयो भने रोग प्रतिरोधात्मक क्षमता कम भएका पनि संक्रमित हुने र जटिलता बढ्दै जान्छ,’ डा. अधिकारी भन्छन्, ‘समुदायमा संक्रमण रोक्न सकिएन भने चुनौतीपूर्ण अवस्था आउँछ ।’

अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक, तर डेल्टा जस्तो घातक नभएकाले अहिले भएका पूर्वाधारले धान्नसक्ने उनको भनाइ छ । मन्त्रालयको तथ्यांक अनुसार देशभर आठ हजार २०२ आइसोलेसन बेड, तीन हजार ८४६ एचडीयू, दुई हजार ७९७ आईसीयू र एक हजार आठ भेन्टिलेटर छन् । त्यसैगरी, १८ हजार २९९ अक्सिजन सिलिन्डिर, ६१३ अक्सिजन कन्सन्ट्रेटर र १३२ अक्सिजन प्लान्ट छ ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ७५ प्रतिशतले कुनै पनि खोप नलाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए ।

‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्,’ डा. अधिकारीले भने, ‘धेरै जसो खोप नलाएका मानिसको मृत्यु भएकाले अनिवार्य रुपमा सबैलाई खोप लिनुपर्छ ।’

कोरोनाको संक्रमणदरलाई रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड र खोपलाई प्राथमिकता दिनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 65 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *