+
+
-- Sponsored Ad --

रहिनन प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकर ।

434 पटक हेरिएको
Clock २०७८ माघ २३, आईतवार २०:२८
-- Sponsored --

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।

यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताएका छन्।

मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने” बताउँदै उनले “दशकौँसम्म भारतीय चलचित्र जगत्लाई नजिकबाट नियालेकी” बताएका छन्।

भारतिय प्रधानमन्त्रीकाे टि्वटर :

 

आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाएकी थिइन्।

उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गर्‍यो।

उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो।

पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्। दिनानाथ त्यस बेला थिएटर कलाकार थिए।

लता मङ्गेशकर

मराठी चलचित्रमा पहिलो कदम :

पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्‍यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन्।

परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन्।

”म सबैभन्दा खुसी गाउँदा हुन्थेँ,” अन्तर्वार्ताका क्रममा उनी भन्थिन्।

सन् १९४९ मा महल चलचित्रको ‘आएगा आनेवाला’ बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो।

हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो।

लता मङ्गेशकर

“[पहिलो हिन्दी गीत] लगत्तै सबै नायिका उनको आवाज चाहन्थे। तर उनी सधैँ व्यस्त रहन्थिन र केही भाग्यमानी सङ्गीतकारहरूले मात्रै उनलाई गीत गाउन लगाउने अवसर प्राप्त गर्थे,” सङ्गीतकार मोहम्मद जहुर खय्याम स्मरण गर्छन्।

त्यसपछिका दशकमा उनले भिन्न पुस्ताका प्रख्यात बलिउड अभिनेतृहरूका लागि हजारौँ गीतहरूमा आवाज दिइन्।

सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन्।

सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले बीबीसीमा लेखेका थिए कि “मैले उनको आवाजमा भगवान्को आशीर्वाद देखेँ”।

मङ्गेशकरले विवाह भने गरिनन्। उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन्।

मङ्गेशकरले नेपाली भाषामा पनि गीत गाएकी छन्।

भारतकी नाइटिङ्गेलकी उपनामले चिनिएकी मङ्गेशकरको निधनमा भारतले दुई दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने भएको छ र भारतीय प्रधानमन्त्री मोदी उनलाई अन्तिम बिदाइ गर्न मुम्बई जाने भएका छन्।

Source: BBC Nepali

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win