२० चैत, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरको बोतल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । १ वैशाख २०८० देखि बियरको सिसाको बोतल प्रयोग निषेध गर्ने निर्णय भएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । बियरको सिसाको बोतल व्यवस्थापनमा समस्या भएकोले प्रयोग निषेध गर्ने निर्ण भएको सूचनामा उल्लेख छ ।
घरपझोङ गाउँपालिकामा मुस्ताङको साविकका मार्फा, टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समिति समावेश छन् ।
गाउँपालिका अध्यक्ष मोहन सिं लालचनका अनुसार बियरको सिसाको बोतल गाउँपालिकाबाट कवाडीमा पनि बिक्री नहुने, पुनः प्रयोग गर्न पनि नसक्ने भएकोले व्यवस्थापन नहुँदा फोहोर बढेको छ । ‘हाम्रो यहाँबाट ढुवानी धेरै महँगो पर्ने भएकोले सिसाको बोतल कवाडी मार्फत पनि गएको छैन, ल्याण्डफिल साइटमा पनि राख्ने कुरो भएन । क्यान बियर भने प्रयोग गर्न सकिने छ’ लालचनले अनलाइनखबरसँग भने ।
नकुहिने फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण भइरहेको र पुनः प्रयोग गर्न सक्ने फोहोरलाई कवाडी मार्फत बेच्ने तयारी भइरहेको अध्यक्ष लालचनले बताए । लालचनका अनुसार घरपझोङमा उत्पादन हुने स्थानीय मार्फा लगायतका अधिकांश मदिरा भने देशबाहिर निर्यात हुने गरेको छ ।
हेर्नुहोस् सूचनाः


