0 प्रतिक्रिया
नारायणघाट बुटवल सडक : थप दुई वर्षको म्याद माग्दै चाईना कम्पनी
सन्जय भट्टराई, कावासोती । थप गरिएको एक वर्षमा पनि काम सम्पन्न गर्न नसके पछि बुटवल नारायणघाट सडक बिस्तारको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरङ कर्पोरेसनले आयोजनाको म्याद अझै २ वर्ष थप गर्न प्रस्ताव गरेको छ ।
४२ महिनामा निर्माण सम्पन्न गर्ने गरि गत २०७५ को चैतमा सुरु भएको आयोजनाले काम सम्पन्न गर्न नसके पछि गत वर्ष २०७९ को भदौमा एक वर्ष म्याद थप पाएको थियो ।
थप गरिएको समय सकिन १ महिना बाकी रहदा आयोजनाले ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताए । आयोजनाको पुर्वी खण्डमा मात्रै ४० प्रतिशत काम सकिएको बताउदै ईन्जिनियर ढकालले निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरङ कर्पोरेसनले थप २ वर्षको समय मागेको जानकारी दिए । ‘निर्माण कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ, म्याद थप गर्ने नगर्ने विषयमा छ्लफल चलिरहेको छ, अहिले मूल्याङ्कन गर्ने काम हुँदै छ, कन्स्लटयाण्ट कम्पनीको राय र स्थलगत मुल्यांकन पछि निर्णय हुन्छ’, उनले भने ।
आयोजनाको पूर्वी खण्डमा रहेका १२ ठूला पुलमध्ये नौ वटामा सब स्ट्रक्चरको काम सकिएको, दुईवटामा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउन्डेसनको काम चलिरहेको ढकालले बताए । ढकालका अनुसार यो खण्डमा रहेका २२ साना पुलमध्ये २१ मा काम सुरु गरेकामा १८ पुलको दुवैतर्फको काम सकिएको छ भने तीन वटा साना पुलमा एकतर्फी काम सकिएको हो ।
विषेश गरेर पुर्वी खण्डका मुख्य बजारहरु गैंडाकोट, दलदले, कावासोती, डण्डा, चोरमारा, अरुणखोला र दुम्किबास क्षेत्रमा बिजुलीका पोल सार्ने कामले खासै गति लिन सकेको छैन । बजार क्षेत्रमा रहेका पोलहरु सारेर कामलाई तिब्रता दिन सडक विभागले ताकेता गरिरहेको बताउदै ईन्जिनियर ढकालले निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसन निर्माण क्षेत्रको काम गर्ने कम्पनी भएकाले विद्युतका पोल सार्ने काममा केही ढिलाई भएको बताउछ्न ।
ईन्जिनियर ढकालका अनुसार आयोजनाले पुर्वी खण्डको दुम्किबास देखि दाउन्ने सम्मको पहाडी क्षेत्रमा खासै देखिने गरि काम गरेको छैन । उनका अनुसार यो क्षेत्रमा सामान्य रुपमा डाँडा काटने र बाल लगाउने बाहेक थप काम नभएको हो ।
चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।
लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।
साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।



