एनसञ्चार संवाददाता, साउन २४, कावासोती : आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस । दिवसको अवसरमा नवलपुर ( नवलपरासि वर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नवलपुरका आठ वटै पालिकाले सार्वजनिक सूचनामार्फत २९ औँ विश्व आदिवासी दिवसका लागि पालिकाभित्रका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले सबै पालिकाहरुलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक बिदा माग गरेको थियो । नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरे अनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ ।

नवलपुरमा विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र पालिका समन्वय परिषद्हरुको संयुक्त आयोजनामा कावासोतीमा र नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोटले गैँडाकोटमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विश्व आदिवासी दिवस मनाउँदै छ ।

कावासोतीमा आयोजना गरिएको कार्यक्रम कावासोतीको पानस बैंङ्केटमा हुने जनाइएको छ । यसअघि कार्यक्रम कावासोती तीन नमुना सदरमुकाम खुल्ला चौरमा हुने जनाइएको भए पनि पानीका कारण पानस बैंङ्केटको हलमा स्थानान्तरण गरिएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।