चोरमारा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिगत नेतृत्व राजनितिले गरेपनि सामाजिक नेतृत्व शिक्षाले नै गर्ने बताएकी छन ।

शनिबार नवलपुरको मध्यविन्दु नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम तथा शिक्षक हातेपुस्तकको औपचारिक शुभारम्भ गर्दै मन्त्री भट्टराइले राजनितिलाई समेत शिक्षाले र्निदृष्ट गर्ने बताईन ।

 

कार्यक्रमलाई सम्बन्धोन गर्दै भट्टराइले जिवनलाई जिवनचक्रको आधारमा बुझ्न सक्नेगरी पाठ्यक्रम निर्माण नहुदाँ त्यो प्राप्त ज्ञानलाई जिवनसंग जोड्न नसकिएको बताइन । शिक्षालाई जिवनसंग जोड्नुपर्छ भन्ने मान्यता सहित बिकास भएको यो खुसी पाठ्यक्रमले दिने विषय बस्तुले दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गरिन ।

मध्यविन्दु नगरपालिकाले कार्यान्वयनमा ल्याएको हाम्रो खुसी पाठ्यक्रमलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनमा लैजानका लागि शिक्षा मन्त्रीको रुपमा आफुले भूमिका निर्वाह गर्ने उन्ले प्रतिबद्धता समेत जनाएकी छन । “यो पाठ्यक्रमको राम्रा कुराहरुलाई हामीले अनुशरण गरौं । यसलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनका लैजान शिक्षा मन्त्रालयले भूमिका खेल्छ । ” मन्त्री भट्टराईले भनिन – “यो पाठ्यक्रमले पारेको प्रभाव सबैका लागि अनुशरण गर्ने विषय बनोस् । आगामी दिनमा हामीले खुसी पाठ्यक्रमलाई कसरी राष्ट्रिय तहमा निर्माण गरेर जाने भन्ने कुरामा मैले नेतृत्व गर्नेछु ।”

मध्यविन्दु नगरपालिकामा यस शैक्षिक सत्र २०८१ बाट हाम्रो खुसी पाठ्यक्रम कार्यान्वयनमा गएको छ । पाठ्यक्रम र सोही पाठ्यक्रमको आधारमा निर्माण भएको शिक्षक हातेपुस्तकको शनिबार प्रमुख अतिथि मन्त्री भट्टराई सहित जिल्लाका वर्तमान तथा निर्वतमान सांसदहरुको उपस्थितिमा बिमोचन गरिएको हो ।

कार्यक्रममा हाम्रो खुसी पाठ्यक्रमको अवधारणा, यसको निर्माण प्रक्रिया, कार्यान्वयनको चरणमा भएका अभ्यासहरुको बारेमा भिडियो सामाग्री तथा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो ।

पूर्व सांसद तिलक महतले मध्यविन्दु नगरपालिकामा शुरुवात भएको नवितम् कार्यलाई क्रमशः अन्य पालिकाहरुमा समेत कार्यान्वयनमा लैजान सुझाव दिए । संविधानसभा सदस्य एवम् हाल गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जि.सि.ले गण्डकी प्रदेश सरकारको समेत सहयोग रहेको यस पाठ्यक्रमलाई राष्ट्रिय रुपमा नै कार्यान्वयन गर्न तर्फ लैजान सुझाव दिए।

उन्ले शिक्षाको विषयमा आवश्यक छलफल हुन आवश्यक रहेको भन्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको नेतृत्वमा शुरुवात भएको यस कार्यको लागि धन्यवाद समेत व्यक्त गरे ।

गाउँपालिका महासंघका महासचिव एवम् कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले हाम्रो खुसी कार्यक्रमसंग आफु प्रभावित भएको उल्लेख गरे ।

यस सम्बन्धमा मध्यविन्दु नगरपालिकासंग यस अगाडी समेत छलफल र संयुक्त अध्ययनको कार्यक्रमहरुमा सहभागी हुने अवसर प्राप्त भएको भन्दै यहाँ भएको अभ्यासलाई अनुशरण गरेर कालिगण्डकी गाउँपालिकामा समेत आगामी शैक्षिक शत्रदेखि हाम्रो खुसी पाठ्यक्रम लागु गर्ने उन्ले बताए ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले हाम्रो खुसी पाठ्यक्रमबाट मध्यविन्दु नगरपालिकामा प्राप्त हुने सिकाई उपलब्धीलाई अध्ययन गरेर यसलाई देवचुलीमा समेत कार्यान्वयनमा लैजान आफु उत्सुक रहेको बताए ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले शिक्षाको क्षेत्रमा नयाँ कार्यको रुपमा प्रयोग ल्याएको यस पाठ्यक्रमलाई व्यवस्थित र उपलब्धी मुलक बनाउन तर्फ सबै नगरपालिका टिम क्रियाशिल रहेको बताए । उन्ले शैक्षिक परिवर्तनका लागि एउटा प्रयासको रुपमा हाम्रो खुसी कार्यक्रम कक्ष १ देखि ८ सम्म लागु गरिएको समेत बताए ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि प्रसाद देवकोटाले विभिन्न तहगत छलफल, अध्ययन र प्रयासहरुबाट हाम्रो खुसी पाठ्यक्रम निर्माण भएको बताए । पाठ्यक्रम निर्माण, हातेपुस्तक लेखन, सम्पादन लागयतको काममा सिंगो नगरपालिकाको शिक्षा क्षेत्र नै लागि पर्दाको उपलब्धी हाम्रो खुसी भएको बताए ।

मध्यविन्दु नगरपालिकाले २०७९ साल माघबाट हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम शुरुवात गरेको देवकाेटाकाे भनाइ छ । हाम्रो खुसी पाठ्यक्रम अनुसार निर्माण भएको शिक्षक हाते पुस्तकको सहयोगमा कक्षागत खुसी शिक्षकले विद्यार्थीहरुलाई हाम्रो खुसी अध्यापन गराउने सम्पादन मण्डलका संयोजक कृष्णचन्द्र गिरीले बताए।

पाठ्यक्रम लागु गर्ने सन्दर्भमा निरन्तर अध्ययन, छलफल, शिक्षक अभिभावक भेटघाट, विद्यार्थीको बुझाईको अवलोकन लगायतको काम भईरहेको हाम्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले बताए ।

‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।