
कावासाेती । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कूल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटनाहरु बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट्राफिक चेकिङ्ग सुरु गरेको हो ।
नवलपुरका गैडाकोटमा पहिलो पटक गरिएको ट्राफिक चेकिङमा ९ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए ।
स्कुल बसमा खास गरेर सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरिएको, कतिपय बसको बिलबुकसमेत नबोक्ने गरेको र नविकरण नभएको पाइएको बन्जाराले बताए । । गैंडाकोट २ स्थित पूर्व पश्चिम राजमार्गमा बिहान ९ बजेदेखि साढे १० र बेलुकी ३ः४० देखि साढे ५ बजेको समयमा चेकजाँच गरिएको हो ।
विद्यालय बस सञ्चालन निर्देशिका २०७४ को मापदण्ड विपरीत सञ्चालनमा आएका एरोमा, एपेक्स, मामाघर एकेडेमी, साईनिङ स्कूल र अक्स्फोर्ड कलेजका गरी ४ विद्यालयका ९ वडा गाडी कारवाहीमा परेका बन्जराले जानकारी दिए ।
कारवाहीमा पर्नेमा एरोमा कलेज चितवनका पाँचवटा, एपेक्स एकेडेमी चितवन, साईनिङ स्कूल गैंडाकोट, अक्स्फोर्ड कलेज गैंडाकोट र मामाघर एकेडेमी कावासोतीका १–१ वटा गाडी कारवाहीमा परेका हुन । मापदण्डअनुसार नचलाइएका बसहरुलाई यातायात व्यवस्था ऐन अनुसार कारवाही हुने बन्जराले बताए ।
विद्यालय बस सञ्चालन निर्देशिका बमोजिम गाडीमा प्राथमिक उपचार किट, फायर एक्सटिंगीशर, आपतकालिन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्न योग्य नरहेको पाइएको प्रहरीले जनाएको छ । मापदण्डविपरत चलाइएका बसहरुलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।