काठमाडौं : प्रधानसेनापति अशोक सिग्देल आन्तरिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार जेन्जीसँग वार्ता गर्नका लागि नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देलले आन्तरिक छलफल अघि बढाएका छन्।
उनले विद्यमान परिस्थिति र आगामी रणनीति तय गर्न मुख्यसचिव एकराज अर्याल, गृह सचिव, सेना तथा सुरक्षा निकायका उच्चअधिकारीका बीचमा निरन्तर छलफल गरिरहेका छन् । उनीहरुले जेन्जीसँग पनि वार्ता गर्ने तयारी गरिरहेको स्रोतको भनाई छ। अहिले आन्दोलनरत जेन्जीको समूहका नेतृत्व वार्तामा पुगे/नपुगेको भने खुल्न सकेको छैन।
मंगलबार नै सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ। यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यसैबीच जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सम्म देशभर निरन्तर रहने जानकारी दिएको हो। यस्तै सेनाले भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ।
सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैसँग अपिल गरेको छ। आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना हुँदा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको सेनाले जनाएको छ। 


