भरतपुर, २७ कात्तिक । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिबेशनको प्रतिनिधिका लागि चितवनमा आवश्यक भन्दा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । २८ जना आवश्यक रहेकोमा २०६ जनाले मनोनयन पत्र दर्ता गरेको एमाले चितवनले जनाएको छ ।

एमालेका अनुसार महाधिबेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट नौ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पिडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ ।

शनिबार भएको मनोनयन पत्र दर्ताका क्रममा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पिडन क्षेत्रबाट ११ जनाको मनोनयन पत्र दर्ता भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

‘महाधिबेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ । धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनौट गर्नका लागि हामी छलफलमा जुटेका छौँ’, उनले भनिन् ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिबेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । त्यसका लागि एमालेले आज देशभर महाधिबेशन प्रतिनिधि छनौट गर्ने काम गरिरहेको छ ।

आवश्यक भन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनौट गर्ने कार्यमा लागेका हुन् । दलित तथा उत्पिडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनौट भइसकेकी छन् । बाँकी एक जना प्रतिनिधि छनौटका लागि छलफल भइरहेको छ ।

निर्वाचन क्षेत्रहरुमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनौट समितिका संयोजकहरुले बताएका छन् । क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए । क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनौट गर्न नेताहरु लागि परेका छन् ।