कोभिडको जोखिम घटाउन ‘तपाईंको माक्स खै ?’

कावासोती, साउन २९ ।। कोभिडको जोखिम कायम रहिरहदा माक्स प्रयोग गर्नेहरुको संख्या भने घटदै गएको छ ।
माक्स नलगाउदा जोखिम झन बढेको भन्दै माक्स लगाउन उत्पे्ररित गर्ने उद्येश्यले कावासोतीमा ‘तपाईंको माक्स खोई ? कार्यक्रम गरिएको छ ।
पैदलयात्रु , सवारी चालक , सवारीमा सवार यात्रु लगाएतलाई माक्स प्रयोग गर्न सचेत गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर ,जिल्ला प्रहरी कार्यालय नवलपुर र कामना सेवा विकास बैंक कावासोतीको सहकार्यमा कार्यक्रम गरिएको हो ।
 
कार्यक्रममा माक्स नलगाएकालाई कोभिडको जोखिम रहेकाले अनिवार्य माक्स प्रयोग गर्न सचेत गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताउनुभयो ।
कोभिड १९ को जोखिम रहिरहेकाले भिडभाडमा जादा ,सार्वजनिक स्थानहरुमा जाँदा कोभिडबाट जोगिन अनिवार्य माक्स लगाउन आवश्यक रहेकाले सचेत गराईएको र माक्स समेत बितरण गरिएको प्रमुख थापाले बताउनुभयो ।
बैंकको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै माक्स वितरण तथा सचेतना मुलक कार्यक्रममा आफुहरुले सहकार्य गरेको कामना सेवा विकास बैंक कावासोती शाखाका प्रमुख श्याम सुवेदीले बताउनुभयो ।