+
+
-- Sponsored Ad --

नक्कली सुन काण्डः अन्ततः फिर्ता भयाे महालक्ष्मी विकास बैंकमा धितो राखेको सुन ।

543 पटक हेरिएको
Clock २०७८ भाद्र २०, आईतवार २२:१९
-- Sponsored --

महालक्ष्मी विकास बैंकले ललितपुरकी विष्णुदेवी महर्जनलाई धितोमा राखेको सुन फिर्ता गरेको छ। ललितपुरको कुमारीपाटी शाखामा ऋण तिरे पनि धितो राखेको सुन फिर्ता गर्न आनाकानी गरेको बैंकले महर्जनलाई सुन फिर्ता गरेको हो। 

एक विज्ञप्ति जारी गर्दै बैंकले गत शुक्रबार महर्जनले धितोमा राखेको सुन फिर्ता दिएको जानकारी गराएको छ। 

‘शुक्रबार ऋणीले कर्जाको सम्पूर्ण साँवाब्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौ,’ बैंकका प्रवक्ता दिपेश लम्सालले भनेका छन्।

बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्ने क्रममा समय लागेको दाबी गरेको छ। महर्जनले पनि बैंकको मुख्यालयले शुक्रबार आफूलाई फोन गरेर सुन लिन बोलाएको जानकारी दिइन्। 

‘हेडक्वाटरले शुक्रबार बोलायो। पैसा वा सुन लिनुहुन्छ भनेर सोध्नुभयो। अनि मैले मलाई मेरो सुन नै चाहिन्छ भनेपछि सबै फिर्ता गरिदिनुभयो,’ उनले भनिन्, ‘उहाँहरूले कुरा गरेअनुसार हेराफेरी भएको भन्ने खालको कुरा गर्नुभयो।’ 

विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन्। उनले बैंकबाट १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन्। त्यसबापत् उनले बैंकलाई २५ तोला सुन धितो बुझाएकी थिइन्।

विष्णुले बैंकलाई हरेक वर्ष आफूले सक्दो ब्याज-सावा तिर्ने गर्थिन्। त्यसरी नै आफूले लिएको ऋण घटाउँदै गइन्। तिर्दै जाँदा गत भदौ ९ गतेसम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्न बाँकी थियो।

बैंकले महर्जनलाई गत असार ३ गते बोलायो। त्यहाँ पुगेर विष्णुले ऋण चुक्ता गर्न बैंकसँग केही समय मागिन्। तर मौखिक निवेदनले नहुने भन्दै बैंकले लिखित निवेदन माग्यो।

‘मलाई लेख-पढ गर्न आउँदैन। तपाईंहरू लेखिदिनु म सही गर्छु भनेपछि लकडाउन खुलेको १५ दिनपछि तिर्नू भनेर भन्नुभयो,’ उनले भनेकी थिइन्,’१५ दिन गाह्रो हुने भएकोले भदौ १० गते सम्मको समय दिनू भनेर मागें।’

बैंकले लिखित कागजी रूपमा १५ दिनभन्दा बढी समय दिन नमिल्ने बताए पनि महर्जनलाई भदौ १० गते सम्मको समय दियो।

उनी पैसा जुटाउनतिर लागिन्। भदौ १० गतेभित्र जसरी पनि तिर्नु पर्ने हुँदा उनले आफन्त तथा साथीहरूसँग सहयोग लिइन्। रकम जुटाएर उनी भदौ ९ गते ऋण चुक्त गर्न कुमारीपाटीस्थित शाखामा पुगिन्।

उनले ऋण चुक्ता गरेपछि धितो राखेको सुन फिर्ता माग्दा बैंकका म्यानेजरले नक्कली निस्केको बताएका थिए। नक्कली भएको भन्दै धितोमा राखेको सुन फिर्ता नगरेपछि विष्णुदेवीले महानगरीय प्रहरी कार्यालय ललितपुरमा जाहेरीसमेत दिएकी थिइन्। 

परिसरले बैंकका प्रतिनिधिलाई छलफलको लागि पहिलो पटक बोलाउँदा केही समय माग गरेका थिए। तर पछि पटक-पटक बोलाउँदा पनि नआएपछि विष्णुदेवीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएकी थिइन्। 

‘बोलाउँदा पनि नआएपछि म राष्ट्र बैंक गएकी थिएँ। त्यहाँबाट चार दिनभित्र समाधान गर्ने भए गर्नू नत्र हामी हेर्छौं भनेर पत्र पठाएपछि मैले सुन फिर्ता पाएँ,’ उनले भनिन्,’तनाव मात्रै भयो। उता हेडअफिसको सरहरूले पनि माफी माग्नुभयो। हामीलाई पनि जानकारी थिएन। मिडियामा आएपछिमात्रै हामीले थाहा पायौं भन्ने खालको कुरा गर्नुभयो।’

यो पनि पढ्नुस्:

महालक्ष्मी विकास बैंकको ऋण तिरेर धितो फिर्ता माग्दा २५ तोला सुन नक्कली निस्किएपछि प्रहरीमा उजुरी ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win