
कात्तिक ३, मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन् । दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।
त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए । पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।
यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिएकि छन् ।
यता आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिराेमा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली र सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विक रहेका छन्। योसँगै बाढीपहिरामा परेर मृत्यु हुनेको सङ्ख्या जिल्लामा १२ पुगेको हो।
उनका अनुसार बाढीपहिराेमा परेर घाइते हुनेको सङख्या आठ पुगेको छ। त्यस्तै गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकाया मृत फेला परेका छन्।
यस्तै लगातारको वर्षापछि घर भत्किँदा र पहिराेमा पुरिएर मङ्गलबारसम्म नौजनाको मृत्यु भएको थियो। सो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका १८ वर्षीय छोरा मोहन विक र १२ वर्षीया छोरी पवित्रा विक रहेका छन्। सोही घरमा मामाघर आएका १६ वर्षीय रवीन विकको पनि मृत्यु भएको छ। यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिराले घर च्यापिँदा ६२ वर्षीय जोगी सार्कीको पनि मृत्यु भएको छ।
घाइते अवस्थामा रहेका उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मङ्गलबार राति नै मृत्यु भएको छ। यस्तै पहिराेसँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ। यस्तै सोमबार रातिको पहिराले घर च्यापिँदा सायल गाउँपालिका–६ का वीरबहादुर कुञ्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको थियो। सोही घटनामा परी तीन जना घाइते भएका थिए। यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराका कारण विस्थापित भएका १६० जनालाई गाउँपालिका र स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल तथा स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी पहिराको जोखिममा परी विस्थापित भएका दिपायल सिलगढी नगरपालिका–८ पाङरिका २० घरपरिवारलाई दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए।
पहिरोले पुरिँदा एकै घरका ६ जनाको मृत्यु
हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरामा पुरिँदा ६ जनाको मृत्यु भएको छ। आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिराेमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले बताए।
खर्पेलगाउँस्थित धनवीरे शाहीको घरमा मङ्गलबारराति माथिबाट खसेको पहिराले घर पुरिँदा धनवीरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। पहिराले पुरिएर बेपत्ता भएका भनिएका धनवीरे शाही र उनका १४ वर्षीय छोरा अलेन्द्र शाहीको शव निकालिएको छ।
बैतडीमा चार जनाको मृत्यु
केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा चार जनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
लगातारको अविरल वर्षाका कारण गएराति घर भत्किँदा सुर्नया–५ रामकी बरायलकी ७१ वर्षीया परुदेवी महराको मृत्यु भएको छ। यस्तै ५५ वर्षीया सरस्वती विष्ट र निजकी बुहारी ३० वर्षीया माया विष्ट घाइते भएका छन्।
यस्तै जिल्लाको शिवनाथ– ६ बसेडीमा घर भत्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन्। वर्षाका कारण तीन दिनदेखि यहाँको विद्युत् सेवा र सञ्चार सेवा पनि बन्द रहेको छ।